Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

त्रिभुवनचोक @ त्रिभुवनचोक ‘नो चेन्ज’

५७ बर्षिय इतिहास मेटाउनु भावी पुस्तामाथिको घात

नेपालगन्ज : इतिहास भाबी पुस्तालाई देखाउने हो । पढाउने हो । बुझाउने हो । नष्ट गरेर इतिहास मेटाउने होइन । नेपालगन्जको इतिहास जोगाउन समयमै ध्यान पुगोस । इतिहास जोगाउन नसक्नु भावी पुस्ता माथिको घात हो ।

नेपालगन्जको मुटुमा रहेको त्रिभुवन चोकले यहाँको परिचय दिने गरेको यथार्थ हो । त्यस चोकमा साविकको जस्तै पूर्वराजा त्रिभुवनको शालिक राख्नुपर्ने देखिन्छ । यो जनआवाज पनि हो । इतिहासमा स्थापना गरिएका चोक पूर्वराजाको नामले अहिले पनि चिनिने भएकोले ति चोकमा साविकमा राखिएका पूर्वराजाकै शालिक राख्दा उत्तम हुने जनअपेक्षा र माग आइरहेको छ ।

नेपालगन्ज शहरका रूपमा विकास हुँदै जाँदा परिवर्तनका डोबहरु पनि बन्दै गएका थिए । २००७ सालको जनक्रान्तिको प्रभाव, चोक बजारमा पनि परेको थियो । सायद २०२०, २१ सालतिर तत्कालीन नगर पंचायतले त्रिभुवनको शालिक चोक बजार (पुरानो नाम) मा स्थापना गरेको इतिहास छ । यसपछि त्यहि बेलादेखि यस स्थानलाई चोक बजारबाट त्रिभुवन चोक नामाकरण गरिएको थियो ।

२०६२ को जनआन्दोनल, मधेस आन्दोलनले त्रिभुवनको शालिक पूर्ण ध्वस्त बनाइ यसको परिवर्तन गर्न खोजिएपनि जनजिब्रोमा बसिसकेको त्रिभुवन चोक हट्न सकेको छैन । र, हटनेवाला पनि छैन । आज पनि यसलाई त्रिभुवन चोक नै भनिन्छ । भोली पनि यसलाई यहि नामलले पुकारिने छ । यसैले पुरानो इतिहासको जरो उखेलेर नयाँ इतिहास रच्छु भन्ने मुर्खता नगरौ ।

नेपालगन्जमा ४० वर्ष पुरानो त्रिभुवनको शालिक रहेको त्रिभुवन चोक स्थित संरचना भत्काएर गलत गरिएको छ । त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने भन्दै उक्त शालिक भत्काईएको थियो । नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले कपोकल्पित रुपमा डोजर लगाएर उक्त चोकको महिमा मेटाउने प्रयास गरेका हुन ।

जनआन्दोलनका क्रममा नेपालगन्जको मुटु त्रिभुवनचोकमा रहेको राजा त्रिभुवनको शालिक तोडफोड भएको थियो । शालिक तोडफोड भएपछि त्यसमा राष्ट्रिय झण्डा राखिएको हो । अहिले सौन्र्दयीकरण भनेपनि पछि चोकको नामका लागि सार्वजनिक सुनुवाईको निर्णय भएपछि इतिहास मेटाउन नहुने धारणाहरु सार्वजनिक हुन थालेका छन् ।

चोकको नाम सार्वजनिक सुनुवाईबाट राख्ने भनेपछि अब त्रिभुवनको शालिक भने नराखिने निश्चित भएको छ । स्तम्भमा राष्ट्रिय झण्डा र नक्सा राखेर संरक्षण गर्ने निर्णय सर्वदलीय तथा सर्वपक्षीय बैठकले गरिसकेको छ । ईतिहास भनेको ईतिहास हो चाहे गलत होस या सहि, त्रिभुवन चोक र बिरेन्द्र चोकले नेपालगजको ईतिहासमा आफुलाई जोडिसकेको छ ।

नेपालगन्जबासीले चोकको नाम बदल्न नहुने धारणा राख्दै सामाजिक सञ्जालमा आफना धारण सार्वजनिक गर्र्दै आएका छन् । त्यसकारण शालिक भएको ठाउँमा शालिक नै राखौ र बिभिन्न आस्थाको नाममा र आन्दोलनको क्रममा राज्य पक्षबाट होस वा बिद्रोही पक्षबाट होस हत्या गरिएकाहरुको सम्झनामा महेन्द्र पार्कलाई शहिद मेमोरियल पार्कको रुपमा बिकास र सौन्दर्यकरण गरौ र यो विवादलाई समाधान गरौ ।

यसरी गर्दा सबैको भावनाको सम्मान रहन्छ इतिहास भावि पुस्ताको अध्ययन र अवलोकन लागि सुरक्षित राख्नुपर्ने धारणा राख्छन् । हिजोकाले इतिहास नष्ट गरे भन्दैमा आजकाले पनि त्यही मार्ग अंगाल्ने हो भने भोलि तिम्रो इतिहास पनि नष्ट नहोला भन्ने कुनै ग्यारेन्टी छैन । सक्छौ इतिहास रच सक्दैनौं इतिहास ध्वस्त नबनाउ ? इतिहास जोगाउनु पर्छ ।

त्रिभुवन चोकमा नेपालको नक्सा र हाम्रो शान राष्ट्रिय झन्डा राख्ने कुरामा बिमती राख्न सकिदैन । तर, नक्सा र झन्डा सहितको त्रिभुवन चोक नै कायम गर्न सके नयाँ पन सहित हिजोको इतिहासको झल्को पनि नमेट्ने काम हुनसक्छ । त्यसले नगरपालिकाको इज्जत होच्याउने होइन अझ जनताको नजरमा इज्जत जोगाउने छ ?

इतिहास कालो होस् वा सेतो जनताको लागि त्यो राष्ट्रिय सम्पत्ति हो । यसको सबैले संरक्षण र सुरक्षा गर्नुपर्छ । त्यसैले महाशय हजुर जे गर्नुहोस र भन्नुहोस नेपालगन्जको त्रिुभवन चोकलाई त्रिभुवन र वीरेन्द्रचोकलाई वीरेन्द्रचोक नै भनिने छन् । र, यहि हुने पनि छन ।