वैदेशिक रोजगारीको नाममा मानव तस्करी : बाँकेको जमुनाह र बिरगन्जको रक्सौल नाका धेरै प्रयोग
नेपालगन्ज : अशिक्षित, बेरोजगार र आर्थिक अवस्था कमजोर भएका व्यक्ति प्रायः तस्करीमा पर्ने गरेको देखिएको छ । पछिल्लो समय नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटना दिनहुँ बढ्दै गएका छन् । बाँकेको जमुनाहसँगै मुलुकका प्रमुख नाका वा सीमानामा यस्ता घटना निरन्तर हुने गरेको खुलेको छ ।
प्रायजसो बालबालिका, किशोर–किशोरी, महिला तथा पुरुष बेचबिखनमा पर्ने गरेको पछिल्लो तथ्ंयाकले देखाउँछ । त्यसमा पनि मानव बेचविखन तथा ओसारपसारमा संलग्न व्यक्तिहरुले उनीहरुको बाध्यताको फाइदा उठाई रोजगारीको प्रलोभनमा बेचविखन गर्ने गरेको देखिएको छ ।
कतिपय घटनामा मानव तस्करहरुले बेचविखन गर्ने उद्देश्य राख्दै विदेशी नागरिकसँग विवाह समेत गराइदिएको तथ्य बाहिर आएको छ । यसरी विवाहपछि बाँकेको जमुनाह र वीरगञ्ज नाका हुँदै भारतीय राजधानी दिल्लीलगायत ठूला सहरमा पुर्याएर जबरजस्ती अनैतिक तथा गैरकानूनी कार्यमा लगाउने गरेको पनि खुलेको छ ।
मानव बेचविखनविरुद्ध कार्यरत नेपाल र भारतका माइती नेपाल, आस्था नेपाल, माहिर, किनलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाको सक्रियतापछि पनि यस्ता अपराधिक घटनामा प्रभावकारी ढंगले कमी आउन सकिरहेको छैन । नाकामा बोर्ड राखेर बसेका यी संस्थाका कर्मचारीले प्रभावकारी भुमिका खेल्न नसकेको देखिएको छ ।
प्रहरीको आर्थिक वर्ष २०७७र०७८ को तथ्याङ्कले मानव बेचविखन तथा ओसारपसारका १ सय ३४ मुद्दा प्रहरीमा दर्ता भएको देखाउँछ । त्यस्तै, मानव बेचविखन तथा ओसारपसारमा संलग्न १ सय ११ पुरुष र ५१ महिला पक्राउ परेका छन् । सोही समयमा ९१ पुरुष र ४४ महिला फरार भएको, २ सय २ पुरुष र ९५ महिला मानव बेचविखनमा अभियुक्त तथा दोषी ठहर भएको र ४ पुरुष र १ सय ८३ महिला पीडित भएको समेत तथ्यले देखाउँछ ।
आर्थिक बर्ष २०७८,०८९ मा भने १ सय ४२ मुद्दा दर्ता भएका छन् । जसमा ११ पुरुष र २०० महिला पीडित पाइएको छ भने २ सय ९ पुरुष र ७५ महिला दोषी ठहर भएका हुन् । सोही समयमा प्रहरीले १ सय २९ पुरुष र ४६ महिलालाई पक्राउ गरेको छ भने ७० पुरुष र २९ महिला फरारको सूचीमा छन् ।
चालु आर्थिक वर्ष २०७९,०८० को माघ मसान्तसम्म मानव बेचविखन तथा ओसारपसारका ८१ मुद्दा मात्र प्रहरीमा दर्ता भएको देखिएको छ । यो अवधिमा त्यस्ता कार्यमा संलग्न ७३ पुरुष र ३८ महिला पक्राउ परेका छन् भने ३८ पुरुष र २४ महिला फरार छन् । यसैगरी १ सय ११ पुरुष र ६२ महिला दोषी ठहर भएकोमा ११ पुरुष र १ सय ३ महिला पीडित छन ।
मानव बेचविखन सभ्य समाजले परापूर्वकालदेखि अस्वीकार गरी आएको फौजदारी कसुर हो । मानव बेचविखन तथा ओसारपसार ऐन, २०६४ को दफा ४ को उपदफा ९१० अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिम बाहेक मानिसको अंग झिक्ने, वेश्यागमन गर्नुलाई मानव बेचविखन तथा ओसारपसार मानिन्छ ।
सोही ऐनको उपदफा ९२० मा कसैले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, प्रपञ्ज मिलाई, जबरजस्ती गरी, अपहरण गरी, शरीर बन्धक राख्नेलगायत कार्यमा बन्देज लगाइएको छ ।
नेपालको संविधानको मौलिक हकअन्तर्गतको धारा २९ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बन्धक बनाउन पाईंदैन । साथै, कसैलाई पनि उसको इच्छाविरुद्धको काममा लगाउन नपाइने बारे पनि स्पष्ट पारिएको छ । तर, सीमित व्यक्तिले आफ्नो फाइदाको निम्ति कानूनको पालना नगरी त्यस्ता गैरकानूनी कार्यहरु गर्दै आएका छन् ।