धरापमा बाँकेका सहकारी
नेपालगन्ज : दक्ष कर्मचारीको अभाव भइरहँदा वित्तीय सहकारीहरूमा सञ्चालकहरूको मनोमानी हावी भइरहेको छ। कर्मचारीहरूमा तालिमको अभाव छ। नैतिक मू्ल्य, मान्यता र शिक्षाको अभाव छ। तर विडम्बना आफ्नो क्षमता, योग्यता नहुँदा नहुँदै कतिपय ठूला भनिएका सहकारीहरू बैंक तथा फाइनान्सहरूसँग नै प्रतिस्पर्धा गर्न लागि पर्दा पनि डुबेका छन्।
यस क्षेत्रको विश्वास पूरै गिरिरहेको अवस्था छ। पैसाजस्तो संवेदनशील वस्तुसँग सम्बन्धित सहकारी संस्थाहरूले जनताको विश्वासको आधार नै गुमाउँदै जानुले यस क्षेत्रको भविष्य अन्धकार देखाउँछ। लाखौं मानिसलाई वित्तीय सेवा दिँदै आएको, हजारौंलाई रोजगारी दिएको, ग्रामीण तथा सूक्ष्म अर्थतन्त्र विकासमा टेवा पुर्याएको, वित्तीय पहुँच बढाउन सहयोग पुर्याएको क्षेत्र हो यो।
गरिबी निवारणमा एक खालको टेवा दिएको यस क्षेत्रलाई राज्यको उचित नियमन आवश्यक छ। तरलता संकटको अवस्थामा भरथेगको अभाव, गलत राजनीति र ठगहरूको बाहुल्यका कारण यो क्षेत्र धराशायी छ। खासगरी वित्तीय सहकारीहरू उठ्नै नसक्ने गरी धरापमा पर्ने जोखिम बढेको छ।
सरकारका वित्तीय उपकरणहरूमा सहकारी क्षेत्रको पहुँच नहुँदा, तरलता व्यवस्थापनमा सरकारले सहजीकरण नगर्दा, ब्याजदर र निर्धारण विधि वैज्ञानिक नहुँदा पनि वित्तीय सहकारीहरू धरापमा परेका हुन्। मूलभूत रूपमा वित्तीय सहकारीको क्षेत्रमा सञ्चालकहरू बदमास भएकाले नै अहिलेका धेरैजसो समस्या उत्पन्न भएका हुन्। तर उनीहरूलाई व्यवस्थित, सहजीकरण र नियमन गर्न नसक्नु राज्यको पनि उत्तिकै कमजोरी हो।
अहिले वित्तीय सहकारीहरू समस्याबाट भाग्न र सदस्यहरूको बचत फिर्ताको दबाब छल्न, अल्मल्याउन पनि मर्जरका कुरामा लागिरहेका छन्। मर्जरमात्रै समस्या समाधानको उपाय होइन। सहकारितालाई समाजवादको एउटा कार्यक्रम मोडलको रूपमा लिइन्छ। नेपालको संविधानमा पनि सहकारीलाई समाजवादको अभिन्न अंगको रूपमा लिइएको छ।
वास्तवमा सहकारी क्षेत्रले गरिब–सिमान्तकृत वर्ग तथा बैंक–वित्तीय क्षेत्रमा पहुँच नपाएका वर्गलाई बढी छोएको छ। तिनलाई प्राथमिकतामा राख्ने भएकाले पनि समाजवादको बाटो तय गरेको नेपालका लागि यस क्षेत्रको संरक्षण जरुरी छ। तर यस क्षेत्रमा व्याप्त माफिया, दलाल, भ्रष्ट, ठगहरूको निर्मुलीकरण आजको आवश्यकता हो।
पछिल्ला समय अर्थतन्त्रका आन्तरिक गतिविधिहरू सुस्ताएका छन्। मुलुक एक खालको आर्थिक मन्दीको चपेटामा जाला कि भन्ने यत्रतत्र चिन्ता छ। खासगरी सहकारी र लघुवित्तको क्षेत्रमा देखिएका समस्याले पनि ग्रामीण अर्थतन्त्र, लघुउद्यम र निम्न आयस्तरका जनतासम्म नकारात्मक असर पारिरहेको छ।
सहकारी क्षेत्र खासगरी निम्न आय भएका गरिब जनतामा बढी विस्तारित भएका संस्थाहरू हुन्। तर विडम्बना यस क्षेत्रमा एकीकृत सूचना र तथ्यांकको अभाव देखिन्छ। खासगरी अहिले जति पनि सहकारीहरू समस्यामा छन्, तीमध्ये अधिकांश बचत तथा ऋणको काम गर्ने वित्तीय सहकारी छन्।