बाँकेका सहकारी अस्तव्यस्त : एकपछि अर्को भाग्दै, नागरिकको बचत धरापमा
नेपालगन्ज : बाँकेका एकपछि अर्को सहकारी समस्याग्रस्त अबस्थामा देखिएका छन । यसले नागरिकको लाखौको बचत धरापमा परेको छ । कतिपय सहकारी भागेका छन । कतिपय बन्द भैरहेका छन । कतिपयले उजुरी खेपिरहेका छन । नागरिक आफनो पैसा असुलीको चक्करमा देखिएका छन । भविष्यमा काम लागोस् भनेर मानिसहरु आफ्नो कमाइको थोरै भएपनि बचत गर्ने गर्छन् । ब्याज पनि पाइने सुरक्षित पनि हुन्छ भन्ने विश्वासका साथ मानिसहरु बैंक तथा वित्तीय संस्थाहरुमा बचत गर्ने गर्छन् ।
बैंक तथा वित्तीय संस्थामा आफैँ बचत गर्न पुग्नुपर्ने हुँदा सहकारीतर्फ मानिसहरु बढी आकर्षित छन् । घर अथवा आफ्नो व्यवसाय सञ्चालन गरेकै ठाउँमा बचत संकलन गर्न आइपुग्ने अनि स(साना रकम पनि बचत गर्न सकिने हुँदा पनि यसतर्फ मानिसको आकर्षण बढेको हो ।
बचत पनि हुने ब्याज पनि पाइने अनि समयको पनि बचत हुने अपेक्षाले सहकारीमा आफ्नो कमाइको थोरै हिस्सा भएपनि दैनिक रुपमा बचत गर्नेको संख्या धेरै छ ।
तर पछिल्लो समय सहकारीहरु समस्यामा पर्न थालेसँगै बचतकर्ताहरुमा त्रास देखिन थालेको छ । एक पछि अर्को सहकारी समस्यामा पर्न थालेपछि सहकारीका बचतकर्ताहरु अर्बौंको बचत जोखिममा पर्न थालेको छ ।
किन बन्दैछ असुरक्षित ?
पछिल्लो समय सहकारी संस्थाहरुमा ठगीको समाचारहरु बाहिरिने क्रम बढेको छ । ‘गाउँगाउँमा सहकारी, घर(घरमा भकारी’ भन्ने नाराका साथ खुलेका सहकारीहरु नै असुरक्षित हुने क्रम दिनानुदिन बढ्दो छ । सञ्चालकहरुले नै मनोमानी रुपमा सहकारीको पैसा चलाएर सहकारी डुबाएको समाचार अबको दिनमा नौलो बन्न छाडिसक्यो ।
सहकारी सञ्चालकहरुमा बढी महत्वाकांक्षा हुँदा ठगी बढिरहेको छ । सहकारीहरुले सर्वसाधारणले बचत गरेको पैसा अनुत्पादक क्षेत्रमा लगानी गरिरहेकाले पनि जोखिम बढ्दो छ । धेरै कमाउने लोभका कारण सञ्चालकहरुले बचतकर्ताबाट संकलन भएको पैसा आफूखुसी लगानी गरिरहेका हुन्छन् । लगानी फिर्ता नआउँदा बचतकर्तालाई भनेको समयमा रकम फिर्ता गर्न सक्दैनन् । सहकारीहरुले झण्डै ९० प्रतिशतभन्दा बढी लगानी घरजग्गा, सेयर, सवारी, अनुत्पादक क्षेत्रमा भएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
अधिकांश सहकारीहरूमा गरिने बचत सुरक्षित नै हुने गरे पनि केही सहकारीमा समस्या देखिने गरेको सहकारी विभागका अधिकारी नैबताउँछन्।तर नियामक निकायको निगरानी र कानुनी संरचनाका दृष्टिले भने सहकारीहरूमा हुने बचत बैंकमा जति सुरक्षित भने नहुने ती अधिकारी बताउँछन् । सहकारीहरूको आर्थिक स्वास्थ्यबारे अध्ययन गरेर मात्रै बचत गर्न बचतकर्ताहरूलाई अधिकारीहरुको सुझाव छ ।
सहकारीमा प्रभावकारी नियमन तथा सुपरिवेक्षण अभाव छ । जसका कारण सहकारीहरुमा समस्या बढ्दो छ । नियमनकारी निकाय सहकारी विभागले सहकारी संस्थाका सदस्यहरु बचत फिर्ता गर्न माग गर्दै उजुरी दिन विभाग पुगेपछि मात्र संस्थाको बारेमा जानकार हुन्छन् । सहकारीमा देखिएका समस्याको समाधानको बारेमा विभागसँग न त स्पष्ट धारणा नै छ, न त नियमनमा कडाइ नै । सहकारी संस्थाहरुको अनुगमन समेत नहुँदा बचतकर्ताको अर्बौं रकम डुब्ने जोखिम बढेको छ ।
बाँकेमा नमस्ते, शिवशिखर, लधुवित्त, टकसार लगायतका ठुला नाम चलेका सहकारी समेत धरापमा देखिएका छन । एकातर्फ नियमनमा कडाइ नहुनु र अर्कोतर्फ सञ्चालकहरुले सहकारीको पैसा मनोमानी रुपले चलाउनुले गर्दा धेरै सहकारी संस्थाहरु टाट पल्टिएका छन् ।