Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

मन्त्री ईस्तियाकका प्रतिस्पर्धी डाक्टर धवललाई शिवसेनाको दरो चुनौती

बाँके दुईमा राप्रपाको संगठन कमजोर, छैन एमालेको उम्मेदवार, जसपाको गठबन्धनमा काँग्रेस, राईलाई नागरिकको ‘सेन्टिमेन्ट’

नेपालगन्ज : बाँकेको क्षेत्र नम्बर दुई नेपालगन्जमा यस पटकको संघीय चुनाउमा राप्रपाका डाक्टर धवलशम्सेर राणालाई चुनौती माथि चुनौती थपिएको छ । जसपाका इस्तियाक राईसँग एकल भिड्दा समेत चुनौती खेप्नुपर्ने राणालाई यतिबेला शिवसेनासँग पनि सामाना गर्नुपर्ने अर्को चुनौती देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका राईको नाम जसपाले एकल सिफारिस गरेको छ । क्षेत्र नं. २ का लागि निकै बलिया उम्मेदवार हुन् उनी । मधेशी र मुस्लिम समुदाय बाहुल्य यस क्षेत्रमा उनलाई जित निकाल्न सहज हुने स्थानीय बताउँछन् । जसपा मधेश केन्द्रित दल र राई मुस्लिम समुदायकै भएकाले पनि त्यहाँका नागरिकको उनले ‘सेन्टिमेन्ट’ प्राप्त गर्न सक्ने देखिएको छ ।

जानकारहरुका अनुसार बाँके–२ मा राप्रपाको संगठन खासै बलियो देखिदैन । त्यसमाथि राप्रपा त्यागेर राप्रपा नेपालमा गएकाहरूले उनलाई समर्थन गर्ने सम्भावना छैन । अहिलेसम्मको अवस्था हेर्दा समर्थन गर्नेभन्दा पनि उनलाई हराउन भूमिका खेल्नेको जमात ठुलै देखिएको जानकारहरु बताउँछन । उनको व्यक्तिगत लोकप्रियताले मात्रै जित निकाल्न सहज देखिदैन ।

यहाँ शिवसेनाले स्वतन्त्र रूपमा उम्मेदवार उठाएको छ । नेपाल शिवसेनाको समर्थनमा प्रतिनिधिसभा सदस्यका लागि दिवाकर शर्मा खनाल उम्मेदवार बन्दैछन् । शिवसेनाले चुनावी अभियान पनि थालिसकेको छ । यस्तोमा हिन्दू समुदायको केही मत खनालले काट्न सक्ने देखिएको छ । यसको सीधै असर धवललाई पर्ने जानकारहरु बताउँछन ।

क्षेत्र २ मा धवललाई एमालेले समर्थन गरेर चुनावी तालमेल गर्ने तयारी पनि चलिरहेको छ । एमालेको मत पाउँदा भने उनले जित निकाल्न सक्ने देखिएको छ । तर, जित फलामके चिउरा बराबर हुने निश्चित छ ।

धवलको पार्टी परिचालन टिम भने कमजोर देखिएको छ । कार्ययोजना बनाउने, कमान्ड गर्ने, रणनीति बनाउने विषयमा राप्रपा कमजोर देखिएको आम नागरिकको बुझाई छ । केही नागरिक धवल मेयर हुँदा पनि असन्तुष्ट भएको यतिबेला गुनासा गरिरहेका छन ।

तर, बाँके दुईमा ईस्तियाक राई र धवलकै कडा प्रतिस्पर्धा देखिएको छ । काँग्रेस जसपासँगको गठबन्धनमा छ । एमालेको यस क्षेत्रमा अहिलेसम्म उम्मेदवार तोकिएको देखिदैन ।


सम्बन्धित समाचार