लुम्बिनीमा ९६ दशमलव ७३ प्रतिशत विद्युतिकरण
नेपालगन्ज : लुम्बिनी प्रदेशका लुम्बिनीमा ९६ दशमलव ७३ प्रतिशत नागरिकले विद्युत उपभोग गर्दै आएका छन । यहाँ अहिले पनि करिब चार प्रतिशत स्थानीय तहका नागरिक विद्युतिकरणबाट बन्चित देखिएका छन ।
लुम्बिनी प्रदेशसहित नेपालका ७ सय ५३ स्थानीय तहमध्ये ४ सय ७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २ सय ४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । तर ३५ स्थानीय तहमा भने अझै नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।
प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ अनुसार, कुल जनसंख्याको ९२ दशमलव ५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ० दशमलव १४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत पाएका छन् ।
प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी) बाट २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गर्दैछ ।
सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युतको पहुुँच विस्तारमा रकम जुटाइएको प्राधिकरण बताउँछ ।