Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

बाँकेमा मिटरब्याजको वितण्डा : न्याय पर्खंदै पीडित

मिटरब्याजमा पुलिसदेखि पत्रकारसम्मको संलग्नता, महिला नै धेरै शिकार, साहुसँग तमसुक प्रमाण छ, पीडितसँग प्रमाण छैन, कारवाहीमा जटिलता छ : पुलिस

नेपालगन्ज : चर्को ब्याज असुल गर्ने र गरिब तथा विपन्नलाई घरबारविहीन बनाउने काममा सक्रिय मिटर व्याजीहरुको यतिबेला भागाभाग हुन थालेको देखिएको छ ।सरकारले मिटरव्याजी पीडितलाई न्यायका लागि प्रशासनमा उजुरी गर्न भनेपछि अहिले प्रशासन र पुलिस अड्डामा उजुरीका लागि धाउनेको संख्या थेकिनसक्नु देखिएको छ ।

यसको असर बाँकेको नेपालगन्जमा पनि देखिएको छ । हुन त यहाँ पुलिसदेखि पत्रकार हुँदै पढेलेखेका नागरिक नै मिटर व्याजको धन्दामा लागेको खुलेको छ । तर, कारवाही होला नहोला यीनका विरुद्ध उजुरी दर्ताको प्रक्रिया बढेको देखिएको छ । स्थानीय तहका जनप्रतिनिधि भने यसबारे बेखबरजस्तै बनेका छन ।

मिटरब्याजसम्बन्धी गुनासो आएकाले यसबारे स्थानीय र संघ सरकारले बनाएको मिटरब्याजसम्बन्धी अध्ययन गर्ने कतिपय ठाउँमा कार्यदललाई नै राखेर छलफल गर्न लागिएको देखिएको छ । तर, बाँकेमा जनप्रतिनिधीदेखि पुलिसका अधिकारी भने उजुरी दर्ता गर्दे कानमा तेल हाल्दै आनन्द सुतिरहेको देखिएको छ ।

यतिबेला बाँकेमा पनि मिटरव्याजको समस्या गम्भीर बन्दै गएको छ । पुलिस यस्ता मिटरव्याजीबाट समेत मोटो रकम असुल्न सक्रिय देखिएकाले पीडितले बाँकेमा न्याय पाउने सम्भावना कमै देखिएको जानकार बताउँछन ।

उजुरी आएको खण्डमा हाम्रो तहबाट हुने र कानुनले दिएसम्मको प्रक्रिया र छलफल अघि बढाउँछौं नेपालगन्ज उपमहानगरपालिका १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘वास्तविक पीडितले न्याय पाउनुपर्छ । यसका लागि सधैं जनताको साथमा छौं । यसलाई निर्णायक तहमा नै पु¥याउने छौं ।’

जिल्लाका अधिकांश मिटरब्याजपीडित नेपालगन्ज र कोहलपुर क्षेत्रका छन् । केही ऋणीले प्रशासनमा उजुरी दिए पनि गाउँघरमा नै व्यवहार मिलाउने भन्दै सयौं ऋणीले अझै उजुरी दिएका छैनन ।

जिल्लामा हालसम्म मिटरब्याजीविरुद्ध दुई दर्जनबढी उजुरी परेका छन । यसअघि मिटरब्याजले घरबारविहीन हुनुपरेको भन्दै कतिपयले सिडिओ अफिसमा समेत उजुरी दिएका थिए । तर, ती उजुरीमाथि सुनुवाई भएको देखिदैन ।

अहिले गृह मन्त्रालयले औपचारिक निवेदन नै माग गरेपछि उजुरी दिनेको संख्या बढेको छ । बाँके प्रशासनका अधिकारी रामशंकर सोनाकरका अनुसार आएका उजुरीमाथि अनुसन्धान र छानविन भैरहेको छ । उनले भने, ‘दर्ता भएका निवेदनविरुद्ध गृहको निर्देशनअनुसार जिल्लामा काम अगाडि बढाउने छौं ।’

मिटर ब्याजको फन्दामा परेर सम्पत्ती गुमाउनेमा अधिकांश महिला छन् । व्यक्ति वा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न, घरव्यवहार चलाउन वा छोराछोरी पढाउन चर्काे ब्याजदरको ऋण लिने अधिकांश महिला निरक्षर छन् ।

मिटर ब्याजको समस्या ठूलै देखिए पनि उजुरी भने कमै आएको बाँके पुलिस बताउँछ । मिटर ब्याजी ऋण लेनदेनमा गरिने तमसुकले ऋणीलाई कमजोर पारेको पुलिसको अध्ययनले देखाएको छ ।

साहुसँग तमसुक प्रमाण हुन्छ, पीडितसँग कानुनी प्रक्रियाका लागि चाहिने प्रमाणहरु हुँदैन बाँके पुलिसका एक अधिकारीले भने ‘यसले गर्दा कानुनी कारबाही र न्याय निरुपणमा अप्ठ्यारो परेको छ ।’


सम्बन्धित समाचार