Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

राप्ती नदीमा बाढी आएसँगै जोखिम मोलेरै दाउरा निकाल्ने र टिकटक बनाउनेको भिड

राप्ती क्षेत्रका सात गाउँ उच्च जोखिममा, नदी आसपासका नागरिकलाई सहज हुन बस्तु सुरक्षित ठाउँमा राख्न प्रशासनको आग्रह, छैन उद्दार टोली अलर्ट

नेपालगन्ज : बाँकेको राप्ती नदीमा बाढी आएसँगै नदीमा जोखिम मोलेरै भएपनि दाउरा निकाल्ने र नदी आसपासमा टिकटक बनाउने नागरिकको भिड नै लागेको देखिएको छ ।

लामो समयदेखिको गर्मीबाट प्रताडित नेपालगन्जबासी नदीमा बाढी आएपछि रमाउदै बाढी हेर्न डुडुवा पुगेका थिए । त्यहाँ जानेमध्ये कतिपयले नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्नमा दिन विताएका छन ।

नेपालगन्ज शहरबाट गएका थुप्रै युवायुवतीले दिनभर जसो नदी किनारमा टिकट बनाएर रमाईलो गरेको देखिएको छ । यसले पनि नेपालगन्जबासीमा टिकटक मोह अत्याधिक बढेको देखिएको छ ।

राप्ती नदी किनारमा मात्रै नभई आसपासका खेत र नदीमाथिको पुलमा समेत टिकटरहरूको भिड देखिएको थियो । बाढी आएपछि नदीको भेलमा पौडी खेल्दै दाउरा संकलन गर्ने विगत देखिकै चलन रहेको स्थानीय बताउँछन ।

राप्ती नदीमा पानीको सतह खतराको सतह भन्दा माथि आएपछि नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन बाँके प्रशासनले आग्रह गरेको छ । खतराको सतहमा पानी पुगे राप्ती नदी आसपासका राप्तीसोनारीको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवाको होलिया, बेतहनी, बनकट्टी, कम्दी लगायतका क्षेत्र डुवानमा पर्ने गरेका छन् ।

नदीमा पानीको सहत खतराको सतह भन्दा पुगेकोले राप्ती आसपासका सर्वसाधारणलाई सहज रहन र  बस्तु सुरक्षित ठाउँमा राख्न आग्रह गरिएको बाँकेका सहायक सिडिओ टोपेन्द्र बहादुर केसी बताउँछन ।उनकाअनुसार सतर्कताका लागि नदी तटिय क्षेत्रमा फोन र साइरन मार्फत जानकारी गराइएको छ ।

बाढीबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि नदी तटिय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, बाढीबाट हुने क्षतिको आँकलन गरि जिल्लामा उद्दार तथा जोखिम न्यूनिकरण टोली भने अलर्ट हुन सकेको देखिएको छैन । यद्दपी जिल्ला विपत व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने खतरालाई ध्यान दिएर आबश्यक तयारी गरिरहेको दाबी गर्दै आएको छ ।


सम्बन्धित समाचार