Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

बजारमा गुणस्तरहीन दुध

बाँकेमा २ लाख लिटर दुध उत्पादन, छैन नियमित गुणस्तर मापन, ठगिदैं उपभोक्ता

नेपालगन्ज : शरीरलाई स्वास्थ्य र तन्दुरूस्त राख्न धेरैले नियमित जसो दुध पिउने गरेका छन । तर, दुध पिउनका लागि सबैले गाई पाल्न अनुकुल हुँदैन, र सम्भव पनि छैन । त्यसैले किसान, व्यापारी वा डेरीबाट दुध ल्याउने गरिन्छ । बाँकेको नेपालगन्ज, कोहलपुर खजुरा लगायतका बजारमा तयारी दुध समेत पाउने गरेको छ ।

यतिबेला बजारमा गुणस्तरहीन दुध आइरहेको भेटिएको छ । किनभने पैसा कमाउने दाउमा कतिपयले शुद्ध दुधको मूल्यमा कमसल दुध विक्री गर्न गर्न थालेको देखिएको छ ।

दुध खरिद गर्नेले वा दुध सेवन गर्नेले त्यसको शुद्धतामाथि खासै प्रश्न उठाउँदैनन । यसले पनि दुधमा पानी मिसाएर बिक्रि गर्नेको संख्या बढेको छ । त्यसले स्वास्थ्यलाई उल्टो असर गरिरहेका हुनसक्छ ।

दुधको गुणस्तर गाई, गाईले सेवन गर्ने खानेकुरा, गाईको जात आदिमा निर्भर गर्ने विद्हरू बताउँछन । खासमा लोकल गाईको दुध बढी स्तरिय मानिन्छ । अझ खुला चरनमा छाडिने गाईको दुध शुद्ध हुनका साथै गुणस्तरिय हुन्छ ।

यद्यपी अहिले गाई गोठमा बाँधेर उन्नत जातका घाँसहरु ख्वाइन्छ, जसले धेरै भन्दा धेरै दुध दिन्छ । त्यस्तै दुध बढाउनकै लागि गाईलाई औषधी दिने गरेको पनि खुलेको छ । त्यसैले अहिले बजारमा पाइने दुध हामीले सोचेजस्तो शुद्ध र गुणस्तरिय हुन्छ भन्ने छैन ।

अझ त्यसमा पानी मिसाएपछि दुधको गुणस्तर कस्तो होला ? दुधको मात्रा बढाउन प्रयोग गरिने विभिन्न अखाद्य तत्व, रसायनले दुधलाई स्वास्थ्यवर्द्धक होइन, विषाक्त बनाउँछ । त्यसैले दुध सेवन गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ ।

बाँकेमा यतिबेला दैनिक करिब दुई लाख लिटर दुध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा दैनिक एक लाख ९८ हजार ७ सय ८० लिटर दुध उत्पादन हुन्छ ।

दुधबाट बाँके आत्मनिर्भर हुन थालेको पशुसेवा कार्यालय बताउँछ । कार्यालयका अनुसार दुध उत्पादन बढेपछि भारतबाट आउने दुधको माग घट्दै गएको छ । तर, यहाँको दुधमा पानी मिसावट धेरै हुन थालेको उपभोक्ता बताउँछन ।

यातायातको असुविधाले नेपालगन्ज ल्याउन नसक्दा जिल्लाको विकट तथा राप्तीपारिको क्षेत्रबाट दैनिक एक हजार लिटर दुध भारतमा बिक्री हुने गरेको छ । बाँकेमा रहेका सहकारीले मात्रै ८ हजार ५ सय लिटर दुध उत्पादन गर्ने गरेको संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी बताउँछन ।