Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

बाढीबाट ५० हजार नागरिक उच्च जोखिममा, छैन व्यवस्थापनको योजना

कहिले बन्छ समस्या समाधानको दीर्घकालिन योजना, जवाफविहीन सरकारी अधिकारी

नेपालगन्ज : बाँके यस बर्षपनि बाढीको उच्च जोखिममा देखिएको छ । यहाँका करिब १० हजार घरपरिवारका ५० हजार नागरिक अहिलेपनि उच्च जोखिममा देखिएका छन । तर, समयमै उनीहरूको उद्दार गर्ने, अन्यत्र व्यवस्थापन गर्ने तर्फ बाँकेमा रहेको विपद व्यवस्थापन समिति र बाँके प्रशासन उदासीन देखिएको छ ।

बाँकेमा हरेक बर्ष बर्सातको समयमा सयौँ परिवार बाढीबाट प्रभावित हुने गरेका छन् । तर यसको दीर्घकालिन समस्या समाधानमा कोही पनि गम्भरि देखिदैनन ।

‘जब पर्यो राती अनि बुढी ताँती’ भने झै यहाँका उद्दार कर्ताहरू बाढीबाट गाउँबस्ती नै ध्वस्त भएपछि हतासिने गरेको देखिएको छ । बाढीको जोखिमबाट नागरिकलाई बचाउन पुर्व तयारी हुन नसक्दा यस्तो समस्याले दीर्घकालिन पीडा दिइरहेको छ ।

राप्ती नदी आसपासका बासिन्दा बाढीको उच्च जोखिममा छन् । तर पनि मानखोला, डुडुवा, पेडारी नाला, किरण नालामा आउने बाढीले धन, जनमा क्षति पुर्याउँदै आएको छ ।

बाँकेमा राप्ती नदी, डुडुवा खोला, मानखोला, परूवा लगायत खोलामा आएको बाढीले क्षति पुर्याउँदै आएको जिल्ला विपद ब्यवस्थापन समिति बताउँछ । तर यी खोलामा दीर्घकालिन तटबन्ध देखि समस्या समाधानका लागि समितिका तर्फबाट बाढीपछि उद्दार बाहेक केही हुन सकेको देखिदैन ।

राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडा बाढीको जोखिममा देखिएका छन । डुडुवा गाउँपालिकाको १, २, ३ र ४ नंं. वडा राप्ती नदीमा आउने बाढीको उच्च जोखिममा छन ।

कोहलपुर नगरपालिकाका बासिन्दा डुडुवा खोलाको बाढीबाट प्रभावित हुँदै आएका छन् । बैजनाथमा मानखोला र खजुरा गाउँपालिकाका बासिन्दा मानखोला, किरण नाला र पेडारी नालादेखि पीडित बनिरहेका छन । यो हरेक बर्ष देखिएको छ ।

जिल्लामा हुने विपद न्यूनिकरण गर्न पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत स्वीकृत गरिएपनि यसको प्रभावकारी कार्यान्वयन शुरूआती चरणमै हुन सकेको देखिदैन ।

यस वर्षको मनसुनमा विगतमा भन्दा वढी वर्षा हुने आँकलन अनुसार सबै सुरक्षा निकाय, विषयगत समितिलाई तयारी अवस्थामा राखेको बाँकेका सिडिओ सुर्य खत्री बताउँछन ।

तर, यसअघिका सबै सिडिओको रेडिमेट जवाफ पनि यहि हुने गरेको थियो । यसैले बाढी आइसकेपछि होइन यसअघि नै जोखिम क्षेत्रका नागरिकलाई उचित ठाउँमा व्यवस्थापन गर्न जरूरी देखिएको छ ।