एनजिओकर्मीलाई पत्रकारिता पुरस्कार
नेपालगन्ज : गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहलाई गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । एनजिओमा कार्यरत व्यक्तिलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको यो नयाँ नौलो र पहिलो घटना भएको बाँकेका सक्रिय पत्रकारहरूले प्रतिक्रिया दिएका छन ।
हुन त यस्ता घटना भैरहन्छन यसअघि बास नामक एक एनजिओले यहाँका तत्कालिन सिडिओ रामबहादुर कुरूङ्वाङलाई सम्मान गर्दै नागरिक अभिनन्दन बनेर नागरिक अभिनन्दनकै खिल्ली उडाएको थियो ।
यसैलेपनि एनजिओकर्मीलाई पत्रकारिता पुरस्कार दिनु खासै अनौठो छैन । तर, तरकारी पकाउँदा नुनिलो बनाउन नुनको सट्टा चिनी हाले झै देखिएको छ । हुन त शाहले एनजिओको बागडोर सम्हालेपनि बेलाबखतमा मौका पर्दा आफुलाई स्वतन्त्र पत्रकार भन्दै आएका छन ।
स्वतन्त्र पत्रकार संघ नेपालको १० औं साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशनको अवसरमा नवलपुरको गैडाकोटमा आयोजित विशेष समारोहमा गोर्खापत्रवाजे स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट शाहलाई सम्मानित गरिएको हो ।