Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

खजुरा क्षेत्रमा यसरी ढालिन्छ गोरू ! किन चुपचाप छ धनौली पुलिस ?

बरामदीत अबैद्य मासु कहाँ छ, किन भएन सार्वजनिक ? सुचना माग्दा पत्रकारलाई नै थर्काउछन धनौली इन्स्पेक्टर

नेपालगन्ज : बाँकेको खजुरा क्षेत्रमा पछिल्लो समय गोरूको मासुको कारोवार दैनिक बढेको देखिएको छ । केही दिनअघि खजुरा पुलिसले केही मात्रामा गोरूको मासु नियन्त्रणमा लिएको थियो ।

हरेक दिनरात जसो खजुरा क्षेत्रका भित्रि केही गाउँ जो धनौली पुलिस चौकीदेखि १÷ डेढ किलोमिटको दुरीमा छन । ती गाउँमा दिउँसै खुलेआम गोरू ढालिन्छन, काटिन्छ र मासु बोरामा प्याक गरी अन्यत्र पठाइन्छ । तर, धनौली पुलिस अपवाद बाहेक सबै चुपचाप देखिने गरेको छ । यसले पनि धनौली पुलिस र गाईगोरूको मासु कारोवारीबिच गतिलै सेटिङ्ग भएको स्पष्ट हुने गरेको छ ।

रकम असुलीमा दुई कदम अघि देखिएको धनौली पुलिस र यहाँका इन्स्पेक्टर प्रेम रेग्मीले केही दिनअघि नियन्त्रणमा लिएको गोरूको अबैध मासु र पक्राउ परेका कारोवारी वारेको घटना अहिलेसम्म सार्वजनिक गरेको छैन । बरामदीत उक्त मासु कहाँ राख्यो वा के ग¥यो पुलिसले ? यतिबेला आम चासोको बिषय बनेको छ ।

कारोवारीसँग बरामद गरेर पुलिस आफैले कारोवार त गरेन ? अहिले खजुराका स्थानीयमाझ प्रश्न उठिरहेको छ । सानो बस्तु समाउदा पत्रकार सम्मेलन गर्ने बाँके पुलिसले यतिबेधेरै त्यो पनि अबैद्य मासु र कारोवारी समाउदा किन घटना सार्वजनिक गरेन ? आम प्रश्न छ ।

खजुरामा कहाँ, कसले यसरी गोरू काटेर मासुको अबैद्य कारोवार गरिरहेको छ भन्ने बारे धनौली पुलिस जानकार छ । तर, गतिलो सेटिङ्गका कारण पुलिसले थाहा पाएपनि नपाएको झै गर्ने गरेको स्थानीय बताउँछन ।

कहिले काँही नागरिकको आँखामा छारो हाल्न मासु समाएपनि पछि सेटिङ्गमा छोडने गरिएको छ एक स्थानीयले भने ‘बर्षमा एक दिन समातेर के गर्ने ३६४ दिन र गोरूको अबैद्य मासु पुलिसकै मिलेमतोमा कारोवार भैरहेको छ ।’

केही दिनअघि करिब ५ बोरो मासु सहित उक्त मासु ओसारपोसारमा संलग्न भे १ ह ४८९३ नम्बरको अटोरिक्सा सहित फ्रिज जडित एक अर्कोगाडी नियन्त्रणमा लिएको भएपनि यस घटनामा के र कस्तो कारवाही भयो सार्वजनिक गरिएको छैन । धनौली पुलिसका इन्स्पेक्टर रेग्मी भने घटनामा अनुसन्धान भैरहेको मात्रै रेडिमेट जवाफ दिदै आएका छन ।

केही दिनअघि भएको स्थानीय तहको चुनाउमा पत्रकारलाई फोटो खिच्न समेत नदिएर विवादमा आएका इन्स्पेक्टर रेग्मीले गोरूको मासु बरामदपछि सूचना माग्दा समेत पत्रकारलाई थर्काउने र धम्काउने गर्दै आएको बाँकेका केही पत्रकारले बताएका छन ।