Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

‘मनि माइन्डेड’ मिडिया : उम्मेदवार खोज्दै असुल्दै

एकै मिडियालाई डेढ देखि साढे २ लाखसम्म दिएको खुलासा, मुखपत्रकारिता बन्दै पत्रकारिता

नेपालगन्ज : सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० का लागि तोकेसँगै यतिबेला देशभर राजनीतिक सरगर्मी बढेको देखिएको छ । यसको प्रभाव बाँके र यहाँका आठबटै पालिकामा परेको छ ।

हरेक राजनीतिक दलले नेपालगन्ज उपमहानगरपालिका सहितका सबै पालिकामा उम्मेदवार घोषणा गरेका छन । कतिपय पालिकामा दुई वा दुई बढी दलको गठबन्धन छ । कतिपयमा दलहरू एकल चुनावी मैदानमा छन ।

दल र दलका उम्मेदवारले प्रचार प्रसार लगायतका गतिविधीमा ठुलो रकम खर्च गर्दै आएको खुलेको छ । तर, निर्वाचन आयोगले पदीय ओहोदाअनुसार चुनावका नाममा रकम खर्चको सिलिङ्ग तोकेको छ । यद्दपी चुनाव जित्ने निहुँमा दल र दलका उम्मेदवारलाई खर्चको कुनै प्रवाह छैन ।

केही दिनअघि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले एउटा बिज्ञप्ती सार्वजनिक गरेको छ । जसमा पत्रकारले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नुपर्ने ,आर्थिक प्रलोभनमा कुनै खदल र व्यक्तिगत प्रचार गर्न नहुने लगायतका बुँदा समेटेको देखिएको छ । तर, बाँकेमा केही मिडिया हाउसहरू ‘मनि माइन्डेड’ भएरै रकम असुलीमा लागेको खुलेको छ ।

बाँकेमा आफनो पक्षमा प्रचार गरिदिन केही दल र दलका उम्मेदवारले आफना निकट मानिएका केही मिडियालाई कब्जामै लगेको खुलेको छ । यहाँका मिडियाले उम्मेदवारसँग बार्गेनिङ्ग गर्दै ५० हजारदेखि डेढ हुँदै साढे दुई लाखसम्म रकम असुली गरेको खुलासा भएको छ ।

बिशेषगरी ठुला दलका ठुला नेता वा नेपालगन्ज उपमहानगरपालिका र केही गाउँपालिकामा उम्मेदवार बनेका व्यक्तिले नेपालगन्जका केही दैनिक पत्रिका सन्चालक र टिभीका पत्रकार भनिने कपिपेष्टकारलाई रकम दिएको यतिबेला नेपालगन्जको पत्रकारिता बृतमा निकै चर्चा भैरहेको छ ।

यस बिषयमा एक ठुलो राजनीतिक दलका नेतालाई सोध्दा उनले चुनावी प्रचार प्रसारका लागि नभएर अरू प्रयोजनका लागि बिज्ञापन दिएको बताएका छन । उनले स्पष्ट भन्न नसकेपनि उनी निकटका एक व्यक्ति रकम दिएको प्रष्टै बताउँछन ।

अहिलेको निर्वाचन केही राजनीतिक दलका जिल्ला तहका नेता र केही मिडियालाई दशै आए झै भएको देखिएको छ । दशैमा मामा घर गएर मायासँग टिका लाएर दक्षिणा लिए झै अहिले केही मिडियाले उम्मेदवारबाट दक्षिणा लिइरहेका छन एक उम्मेदवारले भने ‘सिधै पैसा माग्छन चुनाव छ नदिओै जेपायो लेख्छन के गर्नु समस्या छ ।’ अहिले कतिपय उम्मेदवार त मिडिया र पत्रकारका लागि असुली केन्द्र बनिरहेको खुलेको छ ।


सम्बन्धित समाचार