Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

क्यान्सर अस्पतालको हरिविजोग : लिनायक मेसिन राख्ने भवन गुणस्तरहीन

राज्यको करोडौं स्वाँहा, भवनभित्रै अण्डरग्राउन्डमै पानी जलमग्न, पुर्वाधार पुरा नहुँदै हस्तान्तरण

नेपालगन्ज : बाँकेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा निर्माण गरिएको अत्याधुनिक रेडियोथेरापी उपचार लिनायक मेसिन राख्ने भवन गुणस्तरहीन देखिएको छ ।

जुन भवनको अण्डरग्राउन्ड दैनिक जसो जलाम्मे हुने गरेको छ । मेसिनका लागि टेण्डर भएको अवस्थामा मेसिन आए राख्ने स्थान नभएको अस्पतालका अध्यक्ष किशोर थापा बताउँछन ।

करोडौंको लिनायक मेसिन बंकर बनाएर सुरक्षित साथ राख्ने र प्रयोग गर्नुपर्छ । तर उक्त भवन गुणस्तरहीन भएकै कारण यो कुनैपनि काम सहज हुनसक्ने सम्भावना नदेखिएको अध्यक्ष थापा बताउँछन ।

अहिले मेसिन राख्ने बंकर जलाम्मे छ, बर्षात् झन् भरिने गरेको पाइएको छ । बंकरको निर्माणको गुणस्तरमा प्रश्न उठाउँदै प्रयोगमा नआएको बंकर प्रयोगमा ल्याउन मर्मत आवश्यक रहेको अस्पताले बताएको छ ।

नयाँ बनेको बंकर प्रयोगमा ल्याउन मर्मत गर्न आवश्यक छ, भवन कमसल भएकाले फाइल अध्ययन प्रक्रिया अगाडि बढाउँदै रिनोभेसनको लागि बोलपत्र आव्हान भैसकेको अस्पताल विकास समितिले जानकारी दिएको छ । लिनायक मेसिनले रेडियो विकिरणमार्फत क्यान्सरको उपचार गर्ने र रेडियो विकिरण बाहिरी वातावरणमा चुहिन नदिन बंकर आवश्यक पर्छ ।

निकै सावधानी र सतर्कतापूर्वक गरिनु पर्ने उपचारको उपकरण राख्ने भवन नै कमसल हुनु चिन्ताजनक हो, कसरी भवन बनाइयो, हस्तान्तरण गरियो त्यो बुझ्न अध्ययन प्रक्रिया अघि बढेकोछ । अस्पतालका अध्यक्ष थापाले भने, ‘भवनमा लापरवाही भएको स्पष्ट देखिएको छ ।’

अस्पतालमा बर्षौदेखि कार्यरत कर्मचारीले पानीको सप्लाई बंकर भवन नजिकै रहँदा, दुई वटा भवन जोडिएको ठाउँमा उपयुक्त जडान नहुँदा, पानीको सतह १५÷१६ फिट हुनु र बंकर भवन अण्डरग्राउण्ड भएकाले बंकर भवन जलाम्मे भएको हुनसक्ने बताएका छन् ।

पानी नै रहेको अवस्थामा करोडौंको संवेदनशील मेसिन राख्नु उपयुक्त हुँदैन अस्पतालका कर्मचारीले भने ‘अब प्राविधिकले नै यसको निकास दिनसक्छन ।’

उक्त भौतिक संरचना निर्माण गर्दा तत्कालिन अध्यक्ष किस्मत कक्षपति र त्यसपछिका अध्यक्ष तथा अस्पताल विकास समितिका पदाधिकारीले चासो नदेखाएका कारण अहिले समस्या देखिएको प्रखर परोपकार मिसनका महासचिव राजेन्द्र आचार्य बताउँछन ।

करिब ४४ करोड लागतमा निर्माण गरिएको भनिएको अण्डरग्राउन्ड सहितको उक्त भौतिक संरचना तत्कालिन विकास समितिको लापरवाही र निर्माण कम्पनीको मनपरीले गुणस्तरहीन निर्माण भएको बताइएको छ ।

लिनायक मेशिन खरिदका लागि अध्यक्ष किशोर थापा नेतृत्वको विकास समिति मन्त्रालयबाट ३० करोड रकम निकासा गर्न सफल भएपनि मेशिन राख्नका लागि उपयुक्त स्थानको अभावमा समस्या हुने देखिएको छ ।


सम्बन्धित समाचार