Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

बदलिदै नरैनापुर : मदरशा शिक्षामा छलाङ्ग

गाउँपालिकामा २६ मदरशा, पालिकाको सहयोग र समन्वयमा गुणस्तरीय शिक्षा, वालवालिकाको संख्या बृद्धि

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका यतिबेला शैक्षिक क्षेत्रमा फड्को मार्दै अघि बढिरहेको देखिएको छ । यहाँको समग्र शैक्षिक अबस्थासँगै मदरशा शिक्षामा व्यापक सुधार आएको देखिएको छ । विगतमा जेनतेन चलेको यहाँको मदरशा शिक्षा गाउँपालिकामा जनप्रतिधिीसँगै कर्मचारी आएपछि यसले फड्को मारेको हो । अहिले मदरशामा विद्यार्थीको चाप पनि बढेको छ ।

मदरशाको भौतिक लगायतका पुर्वाधार र शैक्षिक सामग्रीको उपलब्धतामा पनि सहजता आएको देखिएको छ । अहिले नरैनापुर गाउँपालिकामा २६ वटा मदरशा रहेका छन । यी सबै मदरशामा गुणस्तरीय शिक्षा मात्रै नभई पुर्वाधारका हिसाबले पनि मदरशा यतिबेला सक्षम बनिरहेका छन ।

मुसलमानहरू मान्ने धर्मलाई ईस्लाम धर्म भनिन्छ । यसै धर्मसँग सम्बन्धित शिक्षा प्रदान गर्न पवित्र स्थललाई मदरसाको रुपमा लिने गरिएको छ । मदरसा शिक्षा पद्धति धार्मिक ग्रन्थ कुरानमा आधारित छ । कुरान अरबी भाषा लेखिएको छ । यसमा ११४ भागहरु रहेका छन ।

मदरसा अरबी शब्द हो जो द–र–स धातुबाट आएको हो । जसको अर्थ हुन्छ पढ्नु वा पढाउनु । मदरसा शिक्षा हजरत पैगम्बर मोहम्मदको भनाई र गराईसँग सम्बन्धित छ । मुस्लिमहरुले शिक्षा प्रदान गर्न निकाय वा शिक्षण संस्थालाई मकतब भनिने नरैनापुरका जानकार बताउँछन ।

ईस्लाम धर्मसँग सम्बन्धित शिक्षा दिने व्यक्तिहरुलाई मौलवी र मौलाना भनिन्छ । नेपालमा रहेका मुस्लिम समुदायहरु परम्परागत रुपमा मदरसा शिक्षा सञ्चालन गर्दै आएका छन । यसै धर्मसँग सम्बन्धित शिक्षा मदरसामा दिने गरेको देखिएको छ ।

कुरान पाठ गर्न ,उर्दू भाषामा र लिपिमा पढ्ने पढाउने कार्य मदरसाहरुमा हुने गर्दछ । मदरसामा बालबालिका दुवैले अध्ययन गरेको पाईन्छ । बाँकेमा खास गरी नेपालगन्ज, नरैनापुर, जानकी गाउँपािलकामा धेरै मदरशा सन्चालनमा छन ।

कतिपय मदरसा अवासीय रुपमा सञ्चालन छन । कक्षा सात देखि माथि अध्ययन गर्न छात्र र छात्राहरुका लागि छुट्टाछुटै आवासीयका सुविधाहरु सहितका मदरसा छन । आफ्नो आयको केही प्रतिशत दान गरी मदरसाहरुमा दिने र सोही दान तथा चन्दाबाट मदरसाहरु सञ्चालन हुने गरिएको छ । नेपालमा मदरसा कति छन् ? त्यसको वास्तविक तथ्यांक रहेका छैन तापनि नेपालमा करिब हजारको संख्यामा मदरसा छन ।

मदरसा शिक्षालाई मूलप्रवाहीकरण गर्नको लागि २०६६÷०५÷१७ गते देखि शिक्षा नियमावलीको चौथो संशोधनले कक्षा १–८ लाई आधारभूत तह मानी उक्त तहको कक्षा ६–८ को लागि मदरसा विद्यालयहरुको पाठ्यक्रम तयार गरिएको छ ।बाँकेको नरैनापुरका मदरसा यतिबेला व्यवस्थित बन्दै गएका छन् । स्थानीयले आफू खुशी खोल्न थालेपछि मदरासा व्यवस्थित हुन नसकेका हुन् ।

मुस्लिम धर्मावलम्बीले अध्ययन गर्ने थलो मदरसामा योग्यता प्राप्त शिक्षक नहुँदा जीवनोपयोगी ज्ञान दिन पनि समस्या हुँदै आएको थियो । तर, अहिले नरैनापुर गाउँपालिकाको शिक्षा शाखा लगायतका सम्बन्धीत निकायको सहयोग, पहल र मदरशाप्रतिको लगावले यहाँ मदरशाको अबस्था फेरिएको देखिएको छ ।

नरैनापुरमा अहिले २६ वटा मदरशा छन । विगतमा आवश्यक स्रोत अभावमा गाउँपालिका मदरसामा विद्यार्थी संख्या दिनानुदिन घट्दै गएपनि अहिले गाउँपालिकाको सहयोगले मदरशामा विद्यार्थी संख्या समेत सन्तोष जनक देखिएको नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण थारू बताउँछन ।

गाउँपालिकाको अनुदानमा सन्चालन भैरहेका मदरसालाई आर्थिक वर्ष ०७७÷०८मा शिक्षण सहयोग वापत अनुदान ५४ लाख ८८ हजार र आर्थिक बर्ष ०७८÷०७९ मा ३४ लाख ८६ हजार उपलब्ध गराइएको छ ।

यसैगरी छात्रा छात्रवृत्ति तर्फ गतआवमा ७ लाख ३ हजार २ सय र यो आर्थिक बर्षको पौषसम्म ५ लाख ५९ हजार २ सय प्रदान गरिएको छ । जसमा १ हजार ७ सय ५८ जना विद्यार्थीले पाएको शिक्षा शाखा बताउँछ ।

बुक कर्नर व्यवस्थापनमा गत आवमा ५ लाख २१ हजार ७ सय यो आर्थिक बर्षमा ५ लाख ३४ हजार, पोर्टफोलियो व्यवस्थापनमा १ लाख ९२ हजार र यो बर्ष ६० हजार ९ सय बजेट गाउँपालिकाले यहाँका मदरशालाई सहयोग अनुदान उपलब्ध गराएको छ ।

निःशुल्क पाठ्यपुस्तक अनुदान अन्र्तगत पालिकाले १३ लाख ७९ हजार ५ सय ३६ रूपैयाँ प्रदान गर्ने भएको छ । तर उक्त रकम अहिले निकासा हुन बाँकी रहेको पालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण थारू बताउँछन।
उनकाअनुसार अहिले गाउँपालिकामा रहेका २६ मदरशामध्ये कक्षा एकसम्म चारवटा, दुईसम्म १० वटा तीनसम्म ११ वटा ५सम्म एक वटा नियमित सन्चालनमा देखिएका छन ।

शिक्षकको मापदण्ड नै हुँदैन, धर्मगुरूले शिक्षा दिँदै आइरहेका छन् । जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर सञ्चालमा आएका कतिपय मदरसामा कतै कतै शिक्षक दरबन्दी अभावले समयसापेक्ष ज्ञान दिन मदरसा पछि परेका छन् । मदरसालाई व्यवस्थापन गरेर गुणस्तरीय बनाउने कार्यक्रम गाउँपालिकाले बनाएर अघि बढेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत बताउँछन ।

मदरसालाई व्यवस्थापन गर्न आबश्यकताअनुसार मर्ज गरेर अघि बढ्नुपर्ने अबस्था पनि आउन सक्ने उनी बताउँछन । उनका अनुसार यो वा त्यो ढंगबाट जे भएपनि नरैनापुरमा मदरशा शिक्षा जिल्लाकै नमूना बनाइने भएको छ । नरैनापुर गाउँपालिकामा ४५ वटा प्रारम्भिक बाल बिकास केन्द्र, माध्यमिक, आधारभूत र प्राथमिक गरी २१ वटा सामुदायिक बिद्यालय, २६ वटा मदरसा र ५ वटा निजि बिद्यालय छन ।

बाँकेका १ सय १९ मदरसामा चार हजारभन्दा बढी बालबालिका पढिरहेको एक रेकर्डले देखाएको छ । बाँकेका मदरसामा न पर्याप्त शिक्षक छन, न त पाठ्यपुस्तक नै छ खाँले भने ‘सीमित राहत र पीसीएफ कोटाका शिक्षकबाट पूरै मदरसा चलाउन गाह्रो भएको छ ।’ सरकारले २०६२ मा संचालन अनुमति दिएर मूलप्रवाहमा ल्याएको मदरसाहरूमा सरकारी पाठ्यक्रम अनुसार अंग्रेजी, गणित, विज्ञान लगायत विषय अनिवार्य गरिएको छ ।

तर, सरकारले भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र पाठ्यपुस्तकको व्यवस्था नगरेकाले समस्या आएको मौलानाहरु बताउँछन् । धार्मिक प्रकृतिका विद्यालयलाई सामुदायिक विद्यालयको रूपमा अघि बढाउन २०६३ मा विकास नीति बनेको इस्लामी संघ नेपालका ओवैद रहमान खाँन २०६९ मा मदरसा शिक्षालाई व्यवस्थित गर्न एकमुष्ट अनुदान कार्यान्वयन निर्देशिका बनेपनि यो प्रभावकारी हुन नसकेको बताउँछन ।

२०६२ मा मुस्लिम समुदायको आन्दोलनका बलमा प्राथमिक तहसम्मका लागि मदरसाले अनुमति पाएका थिए । त्यसयता माथिल्लो तहका लागि शिक्षा कार्यालयले अनुमति नदिंदा प्राथमिक तहभन्दा माथिको शिक्षाबाट बालबालिका वञ्चित भएको नरैनापुरका मुस्लिम अगुवाहरू बताउँछन् ।

मदरसा सञ्चालनको अवस्था अहिले ठिक देखिएको छ । विगतमा छाप्राको भरमा चलेका मदरशा अहिले आफनै भवनमा छन । अझैपनि सामुदायिक विद्यालय सहर शिक्षक दरबन्दी र सेवा सुविधाको मदरशामा खाँचो देखिएको छ । यसतर्फ प्रदेश तथा संघीय सरकारको ध्यान जान पर्ने देखिन्छ । मदरसालाई जिल्लाको स्मार्ट शिक्षालय बनाउनु वर्तमान समयको आवश्यकता छ ।

बदलिदो परिवेशमा समायोजन हुने र परिवर्तनलाई आत्मसात स्वीकार गर्ने शिक्ष सिकाईका क्रियाकलाप समेत मदरसा शिक्षामा प्रदान गर्न गरिन्छ जो अहिलेको समयको आवश्यकता र अपरिहार्यता देखिएको छ ।
लुम्बिनी प्रदेशको बाँकेमा रहेको नरैनापुर गाउँपालिका १७२ दशमलव ३४ किमी क्षेत्रफलमा फैलिएको छ ।

नरैनापुर उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिण तर्फ भारतको सिमाना, पश्चिमतर्फ डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना जोडिएको छ । कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर गाउँ नरैनापुरमा पर्छन । लगभग यि सबै गाउँमा मदरशा सन्चालनमा देखिएका छन ।


सम्बन्धित समाचार