दुर्गन्धित बन्दै बुलबले ताल
नेपालगन्ज : यसअघि पूर्वाधारसहित थप स्तरोन्नति गरिएको कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्य बुलबुले ताल यतिबेला बेहाल देखिएको छ । सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगर नगरपालिकाको उदासीनता लापरवाही तथा बुलबुले ताल संरक्षण समितिको गैरजिम्मेवारीपनले यो ताल अहिले बेतालका रूपमा परिणत भैरहेको छ । कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्य बुलबुले तालको विस्तार गरिए पनि व्यवस्थापन भने निकै कमजोर देखिएको छ।
प्रमुख आकर्षणको केन्द्र तालमा सरसफाई र उचित व्यवस्थापन छैन। पर्यटक खिन्न बनेर फर्कन्छन्। तालको क्षेत्र विस्तार गरिए पनि कुनै भाग सुक्खा छ, पानी भएको भागतिर झार, प्लास्टिक र सिसाका बोतलजस्ता फोहोरले भरिएको छ।
पछिल्लो समय बुलुबले तालको पूर्वाधार विकास गरिएको रहेछ। गार्डेनहरु सबै राम्रो छ, नेपालगञ्जबाट ताल हेर्न सुर्खेत पुगेर फर्किएकी रेश्मी भुषालका अनुसार बुलबुले धारा र तालमा सरसफाई र फोहोर व्यवस्थापन जरूरी देखिएको छ ।
यहाँ फोहोर फाल्ने डस्टबिनको व्यवस्था गर्नुपर्ने देखिएको उनी बताउँछिन्। बगैँचा र ताल वरिपरि फोहोर फाल्ने डस्टबिनहरु राखिदिनुपर्छ, उनी भन्छिन्, ‘तर, तालको अवस्था देखेर दुःख लाग्यो। ताल रे पानी नै छैन।जताततै फोहोरले दुर्गधित बनिरहेको छ ।’
बुलबुले उद्यानको पूर्वाधारसहित थप स्तरोन्नति भएपछि पर्यटकको संख्या भने ह्वात्तै बढेको बुलबुले उद्यान बताउँछ । उद्यानको तथ्यांकअनुसार तालको विस्तार भएसँगै सरदर दैनिक पाँचदेखि सात हजारको हाराहारीमा पर्यटक आउने गरेका छन्। शनिबार र अरु बिदाको दिन २० देखि ३० हजारसम्म घुम्न आउने गरेको तथ्यांक छ।
बुलबुलेमा अहिले पिकनिक र घुम्न आउनेको लर्को लाग्ने गरेको छ। यहाँ आउने अधिकाश मानिस सरसफाईमा जोड दिनुपर्ने बताउँछन । यसअघि बुलबुले ताल भनेर नाम मात्रै सुनेको थिएँ, अहिले आएर देख्न, घुम्न पाइयो,कोहलपुरकी तृष्णा अधिकारीले भनिन ‘जति बुलबुले भनेर चर्चा र बयान हुन्छ, त्यत्तिकै सरसफाई व्यवस्थापनमा ध्यान दिनुपर्ने देख्छु।’यसो त घुम्न आउने स्वयंमले पनि सरसफाइमा ध्यान दिनुपर्ने र बजार क्षेत्रको ढल व्यवस्थापनमा हुनुपर्ने हरिप्रसाद पौडेल बताउँछन ।
फोहोर व्यवस्थापनका लागि घुम्न आउने व्यक्ति पनि जिम्मेवार भएर राखिएका डस्टविनहरु र फोहोर फाल्ने यरियामा फोहोर फाल्ने गर्नुपर्छ पर्यटक पौडेल भन्छन्, ‘बजार क्षेत्रको ढल पनि बुलबुले एरियामा आउने हुँदा बजार क्षेत्रको ढल व्यवस्थापनमा पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ।’
बुलबुले उद्यानको २० वर्षे गुरुयोजनाअनुसार बुलबुले ताल विस्तारको काम अघि बढेको हो। ताल विस्तारका लागि जिम्मा पाएको वन तथा वातावरण निर्देशनालयले आर्थिक वर्ष २०७५÷०७६ मा टेन्डर प्रक्रियामार्फत् काम थालिए पनि गत आर्थिक वर्ष मात्रै काम अघि बढेको हो।
विस्तार हुनुपूर्व ११ हजार वर्गमिटर फराकिलो बुलबुले ताल तीन गुणा अर्थात २८ हजार वर्गमिटर फराकिलो बनाइएको छ। ताल विस्तारका लागि हालसम्म एक करोड ८४ लाख रुपैयाँ खर्च भएको छ। तालभित्र माटो नखसोस् भनेर रिटेरिङ पर्खाल लगाइएको छ। तालको वरिपरि २० वटा सोलार बत्ती जडान गरिएको छ।
तालको पश्चिमतर्फ इत्राम खोलाको दुवैतर्फ ७६ लाख बराबरको ग्याभिङको काम भइरहेको छ । यसको संरक्षण र विकाका लागि वीरेन्द्र नगर नगरपालिका, उपत्यका नगर विकास समिति लगायतका निकाय उदासीन देखिएका छन । यसले ताल र वरिपरि दुर्गन्ध फैलिदै गएको छ ।
तस्वीर सौजन्य : भक्तबहादुर शाही