Loading... आजः ११ असार २०७९, शनिबार ।। Saturday 25th June 2022

लुम्बिनीमा हराउँदै परम्परागत खेलकुद

कबड्डीदेखि डण्डीबियोसम्म ओझेलमा, जिल्ला र प्रदेश खेलकुद समेत उदासीन, खेलाडी पलायन

नेपालगन्ज : राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत खेललाई समेत खेलकुदभित्र समेटेको छ । यस विषयमा तीन दशकअघि खोजी भएपनि पछिल्लो समय प्रदेश तथा संघीय सरकारका मन्त्रालयले परम्परागत खेलबारे कुनै चासो दिने गरेका छैनन । जिल्ला तथा प्रदेश खेलकुद समितिले पनि यसबारे चासो देखाएको देखिदैन । यतिबेला खेल क्षेत्र व्यवसायीक नभई कमाउधन्दाका रूपष्मा परिभाषित भैरहेको छ ।

परम्परागत खेलकुदकै लागि भनेर विशेष अहिले कसैलेराखेको देखिदैन । लुम्बिनी प्रदेश सरकारले पनि यस्ता खेलबारे कुनै योजना बनाएको छैन । हाईफाई र आर्थिक भित्रिने खेलमा मात्रे सरकार र खेलकुद परिषद्को ध्यान छ । यसले परम्परागत खेलहरू विस्थापित हुँदै गएका छन ।

ऐनले नै मन्त्रालयले परिषद्को सिफरिसमा नेपालमा मौलिक तथा परम्परागत रुपमा खेलिने खेलहरुलाई नेपालको मौलिक तथा परम्परागत खेल तोक्न सक्ने व्यवस्था गरेको छ ।

तर अहिलेसम्म मन्त्रालयले यसतर्फ ध्यान दिएको छैन । कबड्डीदेखि डण्डीबियोसम्म दर्जन बढी परम्पारगत खेल अहिले ओझेलमा देखिएका छन । देशका विभिन्न ठाउँमा मौलिक खालका खेल छन । कतिपय खेल ठाउँ विशेष भिन्न नामहरु राख्ने गरिएको छ ।

गुच्चा नेपालको ग्रामीण भेगमा खेलिने मौलिक खेल हो । समयसँगै यसको खेल्ने तौरतरिकामा पनि परिवर्तन आएको छ । गुच्चा बित्ता नापेर, पिल गरेर, भलेर, सोरठ र ट्वाक्क ठोक्ने आदि लगायत तरिकाले खेलिन्छ । हार्नेले जित्नेलाई गुच्चा नै तिर्नुपर्ने नियम धेरैतिर छ ।

नेपालको ग्रामीण भेगमा विशेषगरी गाईवस्तु चराउन जाँदा खेलिने सामूहिक खेल हो । यसमा एउटा खाल्डो बनाइन्छ । त्यसमा निश्चित दूरीमा पुगेर गुच्चा, सिक्का÷पैसा वा चेप्टो ढुंगाले निशाना बनाएर हानिन्छ । जसले त्यो खाल्डोमा पार्न सक्छ उसैले खेल जित्छ ।

बाघचाल सामान्यतया ग्रामीण भेगमा चौतारीमा बसेर खेलिन्छ । बाघचालमा कुल २५ वटा कोण हुन्छ । जसमा २० वटा बाख्रा र चारवटा बाघ हुन्छ । जसमा बाघले बाख्रालाई खाने प्रयास गर्छ भने बाख्राले बाघलाई थुन्ने प्रयास गर्छ । बाघले बाख्रालाई अगाडिको कोण खाली छ भने मात्रै खान सक्छ ।

बाघले बाख्रा आएपछि त्यो बाख्रा मानिएको ढुंगालाई निकालिन्छ र १९ वटा बाख्राबाट बाघलाई थुन्ने प्रयास गरिने छ । बाघले कम्तीमा ६ वटा बाख्रा खाएपछि त्यो खेल जितेको ठहरिन्छ भने चारवटै बाघ चल्न नसक्ने अवस्थामा रहेको खण्डमा त्यो बाख्रा बनेर खेल्नेले जितेको मानिन्छ ।

डण्डीबियो नेपालको ग्रामीण क्षेत्रमा खेलिंदै आएको एक खेल हो । भलिबल राष्ट्रिय खेल हुनुअघिसम्म डण्डीबियो र कबड्डीलाई राष्ट्रिय खेल भनिंदै आएको भएपनि आधिकारिक रुपमा यसको उल्लेख कतै थिएन । यसमा करिब दुई फिट लामो काठको डन्डी र करिब ६ इन्च लामो काठकै छोटो बियो प्रयोग गरिन्छ ।

डन्डीको एकतिरको छेउ छड्के बनाइएको हुन्छ भने बियोको दुवैतिरको छेउ छड्के वा तिखो बनाइएको हुन्छ । यो भारतीय खेल गिल्ली डण्डा जस्तै एक खेल हो ।

डण्डीबियो खेल्न सुरुमा बियोलाई जमिनमा बनाइएको करिब चार इन्च लामो र दुई इन्च गहिरो खाल्टो (खोपी)मा तेर्सो पारेर राखिन्छ । डण्डीबियोमा खेलाडी संख्या तथा खेल मैदानको आकार निर्धारण गरिएको हुँदैन । यसरी खेल्दा खोपीदेखि बियोको अन्तिम स्थानको दूरी नाप्न आठ एकाई भएको गणना प्रयोग गरिन्छ ।

पानढुंगे÷लक्कुढाल÷किंवल खेल पनि रोचक परम्परागत खेल हो । यसको नाम ठाउँ अनुसार फरक भएपनि खेलको तरिका उस्तै हो । जसमा ५÷६ वटा ढुंगालाई खातखात बनाएर राखिन्छ । त्यसलाई निश्चित दूरीबाट बलले हिर्काएर ढालिन्छ । त्यो ढलेको ढुंगालाई ढाल्ने व्यक्तिले मिलाउनुपर्छ ।

विपक्षीहरुले लक्कु ढाल्नेलाई बलले हान्छन् । बल जहाँ पुगेको छ, त्यहींबाट बलले हिर्काउनुपर्छ ।ढलेको ढुंगा मिलाउनुभन्दा पहिले बलले लाग्यो भने ऊ खेलबाट बाहिरिन्छ । तर ढुंगा खातखात लगाउनुपूर्व बलले लागेन भने लक्कु ढाल्नेको जित हुन्छ ।

घुर्रा पहिले–पहिले काठको हुन्थ्यो । बीचमा डोरी राखेर घुमाउने घुर्रालाई पछि व्यावसायिक बनाउने क्रममा चकलेट राखेर घुमाउने र पछि खान पनि मिल्ने खालको चकलेट आयो । गोलो, चेप्टो चक्लेटमा धागो छिराएर घुमाउन मिल्ने हुन्थ्यो, एकछिन घुमाएपछि खान पनि मिल्ने खालको हुन्थ्यो ।

रुमाल लुकाइ खेल अहिले पनि कताकतै कार्यक्रमहरुमा खेल्ने गरिन्छ । यसमा गोलो घेरामा प्रतिस्पर्धीहरुलाई राखिन्छ । जसको पछि एउटा व्यक्तिले रुमाल राखेर हिंडेको हुन्छ ।

रुमाल राख्ने व्यक्तिले सबैलाई परिक्रमा गर्नुपूर्व नै आफ्नो पछि रुमाल राखेको पत्ता लगाउनुपर्ने हुन्छ । अन्यथा रुमाल राख्ने मान्छेले त्यही रुमालले पिट्दै लखेट्छन् । त्यसपछि रुमाल पछि राखेका व्यक्ति ‘डुम’ बन्छन् र अर्को व्यक्तिको पछि रुमाल राख्न जान्छन् ।

भाले जुधाइ खेल पनि दुई वा सोभन्दा बढीमा खेलिने एकप्रकारको खेल हो । जसमा एउटा खुट्टालाई माथि उठाएर हातले समात्ने गरिन्छ । त्यस्तो अवस्थामा एउटा खुट्टा मात्रै टेकेर खेल्नुपर्ने भएकोले धेरैबेर टिक्न गाह्रो हुन्छ । सबैलाई लडाएर जो अन्तिमसम्म टिक्छ उसैले खेल जित्छ ।

डोरी तान्ने खेल सामूहिक रुपमा खेलिने एकप्रकारको खेल हो । जसमा दुवै समूहमा मान्छे बस्ने गर्छन् र एउटा मजबुत डोरीलाई दुवैतर्फ तानातान गरिन्छ । जसले अर्को समूहलाई आफ्नो समूहतिर खिच्न सक्यो त्यो नै विजयी हुन्छ । यसरी डोरी तान्ने खेल खेलिन्छ ।

घैंटो फुटाइ खेलमा एउटा घैंटोलाई बीचमा झुण्ड्याइन्छ । सहभागीलाई एउटा निश्चित ठाउँमा आँखामा पट्टि बाँधेर घैंटो फुटाउन भनिन्छ । जसले घैंटो फुटाउन सक्छ, उही विजयी हुन्छ । यो खेल विशेषगरी हिउँद महिनामा वनभोजको समयमा बढी खेल्ने प्रचलन छ ।