नरैनापुरमा १६७८ दलित वालवालिकालाई पोशाख
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले यहाँका दलित वालवालिकालाई विद्यालय पोशाख वितरण गरेको छ । विद्यालयमा वालवालिकाको पोशाख नहुँदा पहिचानमै समस्या देखिएको भन्दै पालिकाले यहाँ पाँच विद्यालयका दलित विद्यार्थीलाई दोस्रो चरणमा पोशाख वितरण गरेको हो ।
यसअघि गाउँपालिकाले यहाँका विद्यार्थीलाई साइकल वितरण गरिसकेको छ । साइकल वितरणपछि विद्यालयमा पढन आउने वालवालिको संख्यामा बृद्धि भएको देखिएको छ ।
साइकल वितरण प्रभावकारी भएसँगै पालिकाले दोस्रो चरणमा पालिकाका पाँच विद्यालयका एक हजार ६ सय ७८ दलित वालवालिकालाई विद्यालय पोशाख वितरण गरेको छ ।
गाउँपालिकाले पालिका क्षेत्रका सबै वालवालिकालाई क्रमश पोशाख र अन्य आबश्यक सामग्री वितरण गर्दै जाने योजना बनाएको छ । गाउँपालिकाले नेरा आधारभूत निमावी जमुनी, जयकिसान मावी, महेन्द्रमावी लगायतका विद्यालयमा विद्यालय पोशाख वितरण गरेको हो ।
विद्यालयको शैक्षिक अबस्था अनुगमन गर्दे नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, निमित प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, शिक्षा शाखा प्रमुख केशबहादुर थारू, पालिकाका कर्मचारी भरत महतो, लेखापाल प्रकाश अधिकारी लगायतको टीमले पोशाख वितरण गरेको हो। पोशाख वितरणले विद्यालयमा दलित तथा गैरदलित विद्यार्थीको सहभागीतामा बृद्धि भएको देखिएको छ ।
विगतमा नाम लेखाएपनि विद्यालय पढन आउनेको संख्या कमी थियो नेरा आधारभूत निमावीका प्रअ अमरलाल यादवले भने ‘गाउँपालिकाले साइकल दिएपछि विद्यलाय आउने सबै तहका वालवालिकाको संख्या बढेको छ ।’
उनले भने ‘पोशाख वितरणले पनि अझै वालवालिका विद्यालय आउने र नियमित पठनपाठन गर्नेको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।’
साइकल वितरणको प्रभावकारीतासँगै यसअघि गाउँपालिकाले पालिका भरीका सबै नागरिकलाई सिलिण्डर ग्याँस वितरण गरेको थियो । अहिले विद्यालयमा पोशाख वितरण गरिएपछि नरैनापुरबासी हर्षित बनेका छन ।
यसअघि पालिकाभरीका साढे ९ हजार घरधुरीलाई ग्याँस सिलिण्डर वितरण गरिएको गाउँपालिका बताउँछ ।