Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

उच्च जोखिममा नेपालगन्ज विमानस्थल

मुख्य समस्या वन्यजन्तु, उदासीन प्राधिरकण, तारजाली नै जीर्ण

नेपालगन्ज : बाँकेको नेपालगन्ज विमानस्थल एकदमै जोखिममा देखिएको छ । यहाँ महिनापिच्छे सामान्य भएपनि दुर्घटना भैरहेका छन । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज एक जनावरसँग ठोक्किएको छ ।

विमानको अगाडिको नोज गेयरमा समस्या देखिएको छ । प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार त्यस्तो अप्रिय घटना केही भएको छैन ।

प्रहरी अधिकारीका अनुसार धावनमार्गमा रगतसँगै ठोक्किएको जनावरको शरीरको केही भाग देखिएको र पछि धावनमार्गलाई पानीले पखालिएको छ । यसअघि सोही विमानस्थलमा गत कात्तिक १६ गते सीता एयरको जहाजमा बँदेलसँग ठोक्किएको थियो ।

त्यसअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो । उक्त घटना भने सार्वजनिक भएन । गत वर्ष पनि बुद्ध एयरकै एटिआर–७२ जहाजसँग धावनमार्गमा बँदेल आएर ठोक्किएको थियो । गत वर्ष नै विमानस्थलको रनवेमा यती एयरको जहाजसँग पनि बँदेल ठोक्किएको थियो ।

विमानस्थलको सुरक्षा लापरवाहीले गर्दा पटकपटक यस्ता जोखिमको बेहोर्नुपरिरहेको छ । विमानस्थलको हाल १७ सय मिटर लामो धावनमार्ग छ । वन्यजन्तुकै कारण नेपालगन्ज बिमानस्थल उच्च जोखिममा देखिएको छ ।

विमानस्थल कार्यालयको गैरजिम्मेवारीपनाका कारण विमानमा सधैंजसो वन्यजन्तु ठोक्किरहन्छन् । यसतर्फ विमानस्थल कार्यालयले सुरक्षा संवेदशनीलतामा रत्तिभर चासो देखाएको छैन ।

धावनमार्ग वरिपरि बाक्लो मात्रामा झाडी र बुट्यान छन् । त्यहाँ बँदेल, खरायो, निलगाई, दुम्सी, स्याल लगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन् । विमानस्थलबाट नेपालगन्ज–काठमाडौं रुटमा मात्र दैनिक आधा दर्जनभन्दा बढी उडान हुन्छन् ।

विमानस्थलको धावनमार्गमा बढेको वन्यजन्तुको आतंकका कारण प्रायः जहाजले जोखिमपूर्ण उडान भर्नुपरेको छ । यसबारे नेपालगन्ज विमानस्थल कार्यालयलाई लिखित र मौखिकरूपमा ध्यानाकर्षण गराउँदा पनि सुरक्षा लापर्बाहीलाई सुधार गर्न सकेको छैन ।

कतिपय स्थानमा तारजाली नै जीर्ण भइसकेको छ । ती स्थानबाट वन्यजन्तु मात्र नभएर पशु चौपाया र सर्वसाधारण समेत पस्ने गर्छन् । विमानस्थल वरिपरिको तारबार प्रभावकारी नहुँदा भरपर्दो सुरक्षा व्यवस्थापन हुन नसकेको यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् ।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झा धावनमार्गमा पटकपटक वन्यजन्तु ठोक्किने क्रम दोहोरिएको स्वीर्काछन ।