Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

‘फास्टिङ्ग’मा चल्दै नेपालगन्जको यातायात

दैनिक ५० बढी अफलाइन फाराम, आर्थिक चलखेलमा लाइसेन्स आजभोली

नेपालगन्ज : यातायात व्यवस्था कार्यालय भेरी यतिबेला ‘फास्टिङ्ग’ अभियानमा सक्रिय देखिएको छ । आर्थिक चलखेल गरी लाइसेन्स वितरण गरेको आरोप खेपिरहेको यातायात भेरीले ‘फास्टिङ्ग’ प्रद्धती अघि बढाएपछि सामान्य नागरिक मर्कामा परेका छन ।

यातायातले अफलाइनमा यतिबेला लाइसेन्सको फाराम भर्ने र सहजै ‘फास्टिङ्ग’ प्रद्धतीबाट पहुँचवालालाई आर्थिक चलखेलमा लाइसेन्स उपलब्ध गराउने गरेको खुलेको छ ।

‘फास्टिङ्ग’ प्रद्धती भने अफलाइनमा सिधै फाराम भरेर एक÷दुई दिनमै लाइसेन्स उपलबध गराउने बिधी यातायातले अपनाएकोछ । यो गैरकानूनी र असुलीको सजिलो उपाय हो । ‘फास्टिङ्ग’ लाइसेन्स प्राप्तीका लागि पहुँचवाला र हुनेखाने जो मोटो रकम बुझाउँन सक्छन उनीहरूले ५० हजारसम्म दिने गरेको खुलेको छ ।

यतिको रकम दिएपछि उक्त सेवाबाट लाइसेन्स आजको भोली उपलब्ध हुने गरेकोछ । ‘फास्टिङ्ग’ विधिका कारण यातायातका विचौलिया र कर्मचारीले भनेको रकम बुझाए फारम भर्न पदैन तर उनीहरूको अनुसार नगए फरम भर्न र लाइसेन्स लिन ५÷६ महिना लाग्ने गरेको छ ।

विचौलिया र कार्यालयका कर्मचारीको मिलेमतोमा सिधै फोटो खिच्ने र लाइसेन्स बनाउँने यहाँ यतिबेला चलन जस्तै बनेको देखिएको छ । यातायातकै एक कर्मचारीका अनुसार दैनिक ५० बढी यस्ता गैरकानूनी फोटो खिच्ने र ‘फास्टिङ्ग’ प्रद्धतीबाट लाइसेन्स बनाउने काम भैरहेको छ ।

यसले अहिले यहाँका तल्लो तहदेखि माथिल्लो तहका कर्मचारी र ट्राफिक प्रहरी तथा यातायात बाहिर बसेका विचौलियाको आम्दानी राम्रै भएको देखिएको छ । तर, आर्थिक अभावमा रहेका तर लाइसेन्स लिन चाहने सबै प्रक्रिया पु¥याएका सयौ सर्वसाधारणले भने सास्ती भोग्दै आएको गुनासो गरेका छन ।

यसरी वितरण गरिएको लाइसेन्समा लाखौंको आर्थिक घोटाला र चलखेल भएको देखिएको छ । तर, बाँके प्रशासन तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग भने यस बिषयमा उदासीन तथा मौन रहदै आएको छ ।

टायलका बेला फिल्डमै खटिने अख्तियारका कर्मचारीको केही सेटिङ्ग भएको हुनसक्ने नागरिकले आँकलन गरेका छन । यातायातमा भएका यस्ता गतिविधीका बारे बुझन खोज्दा यातायात कार्यालय नेपालगन्जका प्रमुख पुरूपोत्तम पौडेल कुनै प्रतिक्रिया दिदैनन ।

नेपालगन्जमा खुलेआम सेटिङमा लाइसेन्सको खरिदबिक्रि हुन थालेको छ । ८ हजारदेखि ५० हजारसम्म लिएर ट्रायलमा फेल भएकालाई पनि उत्तिर्ण गराउन थालिएको छ । बाँकेमा हाल दैनिक मोटरसाइकलको एक हजार पाँच सय तथा गाडीको चार सय ट्रायल हुने गरेको छन्।

दैनिक दुइ सय जनासम्मलाई सेटिङमा पास गराउने गरिएको स्रोत बताउँछ । लाइसेन्समा सेटिङ, ड्राइभिङ सेन्टरका सञ्चालक हुँदै प्रहरी इन्सपेक्टरदेखि यातायात प्रमुखसम्मको मिलमेतो रहेको खुलेको छ ।