Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

कांग्रेस संघीय क्षेत्र अधिवेशन : ढल्दै कोहलपुर क्षेत्रको विरासत

क्षेत्र नम्बर १ मा पोषण र २ मा वीरेन्द्रको ह्रयाटीङ्ग, ३ मा खाँ निर्विरोध पक्का जस्तै

नेपालगन्ज : बाँकेमा पनि काँग्रेसको अधिवेशन चलिरहेको छ । आगामी नौ गते क्षेत्रीय सभापतिका लागि निर्वाचन हुँदैछ । जसमा यहाँका तीनवटै क्षेत्रमा चुनावी तयारी भैरहेको देखिएको छ ।

दुई दशक बढी रेडियो नेपालमा काम गरेका पोषण केसी बाँके कांग्रेसका आशलाग्दा युवा नेता हुन् । उनको प्रतिस्पर्धा अहिलेका क्षेत्रीय सभापति संस्थापन समूहका माधवराम खत्रीसँग हुनेछ ।

तर, खत्री यतिबेला काँग्रेस नेता कार्यकर्ताकै माझ अलोकप्रिय बनिरहेका छन । युवा तथा चर्चित सेलिब्रेटी नै प्रतिस्पर्धी भएपछि यतिबेला खत्रीको दुई कार्यकालको विरासत ढल्ने काँग्रेस नेता तथा कार्यकर्ता बताउँछन ।

बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा युवा नेता पोषण केसीले उम्मेदवारी दिएका छन् । संघीय क्षेत्रीय अधिवेशनका लागि संस्थापन इतर समूहबाट केसीले उम्मेदवारी दिएका हुन् । लामो समय पत्रकारिता गरेका केसी पत्रकारितालाई विट मार्दै कांग्रेसको पूर्णकालीन राजनीतिमा होमिएका हुन् ।

जुझारू युवा नेता केसी नेपाल पत्रकार महासंघको केन्द्रिय महासचिव भएका थिए । उनी पत्रकारको न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत भएका थिए ।

निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत अधिवक्ता चित्रबहादुर शाहीले तीन वटै प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय अधिवेशनका लागि बुधबार मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको बताए ।

क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति र केन्द्रिय महाधिवेशनका मतदाता संघीय महाविधेशन प्रतिनिधि चयन गरिनेछ । बाँकेमा एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जना संघीय महाधिवेशन प्रतिनिधि चुनिनेछन् ।

क्षेत्र नम्बर २ मा पार्टी सभापति शेरबहादुर देउबा पक्षीय दुई नेता नै सभापतिमा प्रतिष्पर्धा गर्दैछन् । अहिलेका क्षेत्रीय सभापति रमेशकुमार गुप्ता र नेपाल तरुण दल बाँकेका अध्यक्ष तथा वडा नम्बर १३ का वडा अध्यक्ष विरेन्द्र शाहबीच प्रतिष्पर्धा हुँदैछ ।

नेताहरुका अनुसार क्षेत्र नम्बर ३ मा नक्की खाँ निर्विरोध हुने करिब करिब पक्का जस्तै छ । उनी अहिलेका पनि क्षेत्रीय सभापति हुन् । संस्थापन पक्षका उनी नै फेरि क्षेत्रीय सभापति निर्विरोध हुने देखिएको छ ।