पत्रकार कि दलिय नेता ?
नेपालगन्ज : साच्चिकै भन्ने नै हो भने, पत्रकारिताको आधारभूत मुल्यमान्यता र पेशागत आचारसंहिता हाँसिल नगरिकन गरिएको लेखापढीलाई पत्रकारिता भन्नै सकिदैन । पत्रकारिता त सामाजिक क्रियाकलापको एक हिस्सा हो । टस्थता,स्वच्छता ,जवाफदेहिता ,स्वतन्त्रता ,सत्यता पत्रकारका मुल्यहरु हुन् । आज पत्रकारको नाममा सामाजिक पद प्रतिष्ठा ,सम्मान र विभिन्न स्वार्थ पूर्ति गर्न उद्दत आकाँङ्क्षीहरुसँग पत्रकारिता र यसका मूल्य मान्यताको कुनै जरुरत छ जस्तो लाग्दैन । मात्र जरुरत छ त दलीय संगठन ,परिचय र त्यसको भजन गानको !
यतिबेला काँग्रेसको वडादेखि जिल्ला अधिवशेन र एमालेको महाधिवेशनको प्रक्रिया चलिरहेको छ । जहाँ प्रतिनिधी छनोटका काम धमाधम भैरहेका छन । बाँकेमा भएका काँग्रेसका वडा अधिवेशनमा थुप्रै पत्रकारहरू क्षेत्रीय प्रतिनिधी छनोट भएका छन । पत्रकारिताको खोल ओढेर दलिय नेता बन्न खोज्नु कदापी उपयुत्तः हुँदेन ।
पत्रकार दलको नेता हुन पाइन्छ । तर, दलको नेता हुँदा पत्रकारिता पेशाबाटट अलग हुन आबश्यक देखिन्छ । दलको राजनीति र पत्रकािरता कहिले पनि हुन सक्दैन । दलको राजनीति गर्ने व्यक्तिले पत्रकािरताको खोल ओढनु भनेको दुई नम्बरी धन्दाकालागि प्रेसको दुरूपयोग गर्नु निश्चित हो ।
पत्रकारको यो प्रवृत्ति र यस किसिमको पत्रकारिताप्रति मेरो व्यक्तिगत टाउको दुखाइ मात्र होइन । मैले यहाँ कुनै पात्र र पेशाको मानहानी गर्न खोजेको पनि होइन । मात्र पेशाको प्रयोग गरि कुनै गलत प्रवृत्तिका बारेमा केही मनका उथलपुथिल शब्द मात्र खर्चिएको हुँ ।
आज पार्टीकार पत्रकारको विगविगी र हालिमुहालि भइरहदा भ्रष्टहरुबाटै पत्रकार पालितपोषित भइरहेका छन् । आज तरवार भन्दा शक्तिशाली कलमलाई कमजोर बनाएका छन् । आफ्नो स्वविवेक र ज्ञानलाई बन्धक बनाएका छन् । सत्यको नीवमा दलीय मसी भरेका छन् । अनि पार्टीगत इरेजरले वास्तविकतालाई मेट्दै छन् । के यही हो पत्रकार ?
के यसैलाई पत्रकारिता स्विकार्नु ? अहँ कदापि स्वीकारयोग्य छैन । मात्र एउटै प्रश्न छः व्यवस्थापिका ,कार्यपालिका र न्यायपालिका पछिको चौथो अंगका पत्रकारहरुले दलाल ,घुसखोर, ठालु, नैतिक रुपमा पतन, भ्रष्टहरूको जयजयकार गर्ने कि मुद्धा उधिन्ने ? समाजलाई त्यस्ता कुकर्ताहरुको पञ्जाबाट टाढा राखी आम नागरिकलाई सचेत गराई समाजलाई अग्रगमनतर्फ डोहोराउने ? यसको उत्तर आम नागरिकले खोजीरहेका छन् ।
पत्रकारहरुले नै राज्यका विकृतिहरु औँल्याउनु पर्ने हो। तर दलीय आवरणमा समाजका कैयौं राजनीतिक विकृतिको ढाकछोप भएको पाइन्छ । आफ्नो पार्टीको गलत प्रवृत्ति विरुद्ध बोल्न नसक्ने ,कलम चलाउन हात कमाउने प्रवृत्तिको पछिल्लो समय निकै विकास भएको छ । यो नितान्त गलत छ ।
पत्रकार कला, कर्म र सेवा सबै हो । पत्रकार बलियो नभए भ्रष्टाचारीमा, राजनीति आवरणका दलालीमा कुनै डर लाज बाँकी रहन्न । भ्रष्टलाई नाङ्गेझार बनाउने हतियार बोकेका पत्रकारले नेपोलिएन बोनापार्टले भनेझैं आरोपी, समालोचक, सल्लाहकार र राष्ट्रका सेवकका रुपमा काम गर्नुपर्छ ।
चार विरोधी पत्रकार चार हजार सेनाभन्दा पनि डरलाग्दा र शक्तिसाली हुन्छन् भन्ने तथ्यलाई प्रमाणीत गर्नुपर्छ । नेताहरुलाई पुष्पगुच्छा चढाउँदै,पैतलामुनिको धुलोलाई शीरोधार्य मान्ने नभई आम आवाजविहिन नागरिकको प्रतिनिधित्व गर्नुपर्छ । साच्चिकै आफूलाई पत्रकार हुँ र पत्रकारिता मेरो पेशा हो भन्नेहरूले पत्रकारिताभित्रको निष्पक्षता र आचारसंहिताको कठोर पालना गर्नुपर्छ । र, यो हिम्मत उनीहरुमा हुनैपर्छ ।
समाजको ऐनाको रुपमा आफूलाई उभ्याई ,समाजका राजनीतिक, आर्थिक, सामाजिक सबैखाले विकृति विसंगति र कुकृतिहरुको यथार्थ चित्रण गरी, सबैखाले समस्याको उजागर गर्दै, विकृतिको भण्डाफोर गर्दै त्यसको न्यायोचित समाधानतर्फ समाजलाई डोहोर्याउने काम पत्रकारको हो ।
यो नै असली पत्रकारको चरित्र हो । तर विडम्बना शब्द शक्तिको माध्यमबाट शासकलाई समेत झुकाउने हैसियत बोकेका पत्रकारनै गलत प्रवृत्ति विरुद्ध बोल्नै डराउनु, कलमलाई बङ्ग्याउनु र दलीय मुकुण्डो ओढेर आफ्नै प्रतिष्ठा जोगाउन लागिपर्नुले पत्रकारिताको विस्वसनीयता नै धरापमा परेको छ ।
यस्तो अबस्थामा अब पत्रकार साँच्चिकै पत्रकार बन्ने कि पार्टीका बफादार कार्यकर्ता बन्ने यो बडो यक्ष प्रश्नका रुपमा अगाडि आएको छ । विभिन्न स्वार्थ समुह वा राजनीतिक दलहरुले पत्रकारिताको गलत प्रयोग वा दुरुपयोग भने गरिरहेका देखिन्छन् । जसले गर्दा हुर्कदै गरेको, मौलाउदै गएको वा जान थालेको लोकतन्त्रमाथी प्रहार भइरहेको छ ।
यस्तो विकराल अवस्थामा आफ्नो आफ्नो मर्यादित पेशाप्रतिको साख गुम्दै जानू असली पत्रकारहरुका लागि कुनै हिसाबले पनि शोभनिय कुरा छैन । देशको चौथो अङ्गका रुपमा चिनिने पत्रकारलाई आम नागरिक र पाठकले हेर्ने अहिलेसम्मको दृष्टिकोणमा अब सकारात्मक परिवर्तन ल्याउनु आवस्यक छ ।
यसका लागि पत्रकार भन्नेहरूले आफ्नो कलममा टाँसिएको दलीय स्टिकरलाई च्यात्नुपर्छ,कलमबाट निस्कने शब्दहरुमा दलीय रोदन सुनिनुहुदैन,नेताको चम्चे मुखपात्र नभई श्रमजीवीहरुको प्रतिनिधि पात्र बन्न सक्नुपर्छ ।
बर्षभरि पार्टीको हनुमान बनी भजनगान गाउनुको साटो, आधारभुत आबश्यकता समेत पूरा गर्न नसकेका आम नागरिकको रोदन र आवाजलाई सम्बोधन गर्न तत्पर हुनुपर्छ । यसो गरेमा मात्र पत्रकारिता झल्काउँछ, पत्रकार चिनाउँछ ।
अब आजैका दिनदेखि आफूलाई पत्रकार भन्नेहरूले राजनीति दलको मुकुण्डो फ्याकि पत्रकारिता गरेमा पत्रकारिताको विस्वसनियता र पाठकको रूची गुम्ने थिएन कि ?