Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

चराहरूको स्वर्ग लुम्बिनी

चराको सुसेली, चिरबिराहट, आवाज पृथ्वीको एउटा थप सुमधुर संगीत जस्तै हो। यसमा जादु हुन्छ। सबैलाई आकर्षण गर्ने मन्त्र हुन्छ।

नेपालगन्ज : हजारौं माइल यात्रा तय गर्दै सुन्दर क्षेत्र खोजी गर्दा यस क्षेत्रलाई पाहुना चराको रोजाइमा पर्नु सुखद् पक्ष हो। विभिन्न राष्ट्र पार गरी नेपालको तराई क्षेत्र पाहुना चराले रोज्नु हाम्रा लागि पनि गौरवको विषय हो।तराई नदीनाला तालतलैया र सिमसार क्षेत्रले भरिभराउ त्रिवेणीदेखि तिलौराकोटसम्मको लुम्बिनी प्रदेश क्षेत्र जलचरदेखि चराचुरुंगीका लागि वरदान हो। स्वर्ग समान छ यो।

जुन प्राचीनकालदेखि नै ऋषिमुनिदेखि बोधीसत्वहरूको तपस्थली र चराहरूका लागि करुणाको क्षेत्र हो। यस पवित्र देवभूमिमा चार सयभन्दा बढी प्रजातिका चरा रहेको अध्ययनले देखाएको छ। रैथाने जातदेखि बसाइँसराइ गरी आउने र कैयौं दुर्लभ प्रजातिका चरा देख्न देख्न पाइन्छ। यो क्षेत्र चराप्रेमी, चराविज्ञ एवं अनुसन्धानकर्ताहरूको समेत आकर्षणको केन्द्र रहेको छ।

यस क्षेत्रमा रहेका तीन नदीहरूको संगम त्रिवेणी, तिनाउ, रोहिणी, डन्डा, दानव, तेलार, कञ्चनलगायत दर्जनौं नदीहरू चराहरूको क्रीडास्थल मात्र नभई पर्याप्त भोजनको भण्डारको रूपमा छ। चराचुरुंगी पृथ्वीका सुन्दर र रचना हुन्। आकार, प्रकार, आवाज, प्रजाति हरेक दृष्टिले चराहरू ब्रम्हाण्डका आकर्षण मात्र होइन कि पृथ्वीका लागि जल, जंगल, जमिनसँगै अर्को एउटा वरदान हो।

जल र जंगलमा देखिने पक्षी पृथ्वीका लागि सुनमा सुगन्ध जस्तै हो। जसरी पहाडमा वृक्ष नभए रुखो हुन्छ त्यसरी नै जंगलमा चलचर नभए जंगल सुनसान हुन्छ। चराको सुसेली, चिरबिराहट, आवाज पृथ्वीको एउटा थप सुमधुर संगीत जस्तै हो। यसमा जादु हुन्छ। सबैलाई आकर्षण गर्ने मन्त्र हुन्छ।

हाम्रा नदी, तालतलैया, पहाड र तराई सबै चलचरले गर्दा सबैका लागि सुन्दर र आकर्षण छ। यस क्षेत्र पृथ्वीको वरदान हो। त्यसैले नदीनाला, तालतलैया र सिमसार क्षेत्रले भरिभराउ छ। हरिया जंगल, पहाड, नदीनाला, तालतलैया आदिको प्रचुरता र सिमसार क्षेत्र भएकै कारण यहाँ प्रशस्त चरा बस्न रुचाउँछन्।

यो सयौं प्रजातिका चराहरूको खेलमैदान जस्तै हो। यस क्षेत्रका जगदीशपुर ताल, गजेहडी, गैडहवाजस्ता ताल र लुम्बिनी कपिलवस्तु क्षेत्रका सिमसार स्थल दुर्लभ र रैथाने एवं पाहुना चराका लागि वरदान छ। आखिर किन त यस क्षेत्रमा चार सयभन्दा बढी प्रजातिका

चरा भेटिन्छन् ? चराविज्ञ डा. हेमसागर बरालका अनुसार यस क्षेत्रमा प्रशस्त नदी, तालतलैया, सिमसार क्षेत्र भएको र अर्को महत्त्वपूर्ण पक्ष यस क्षेत्रका खेतबारी र नदीनालामा प्रशस्त पौष्टिक आहार पाउने भएका कारण यो क्षेत्रलाई चराहरूले रोजेका हुन्।

धान, गहुँ र अन्य बाली काटेपछि खेतबारीमा बचेका र खसेका प्रशस्त दाना र कीरा, फट्यांग्रा यस क्षेत्रमा प्रशस्त भेटिने गरेका कारण पनि चराले यस क्षेत्र रोज्ने गरेका हुन्। मकै र फलफूलका सिजनमा पनि प्रशस्त चराहरू आएर आहार खोज्ने र यस क्षेत्र रोज्ने गरेका छन्। वाया बुनकर नामको सुन्दर चराको आफ्नै इन्जिनियरिङ छ। यसले आफ्नो घर आफैं बनाउँछ। भनिन्छ, यो पृथ्वीको पहिलो घर बनाउने पक्षी हो।

प्राचीन मानिसले यसैको प्रेरणाबाट घर बनाउन सिकेको हो। चराको प्रेरणा मानिसका लागि अनुकरणीय हुनु चराको अर्को सुन्दर पक्ष हो। लुम्बिनी प्रदेशको तराईको नवलपरासीदेखि कपिलवस्तुसम्म भगेरादेखि बगेडी, ढुकुर, चिल कौवा, श्वेत वक्ष जुरेली, गरुण, मुरलीचरा, सारस, सिलसिले, हुटिट्याउँलगायत सयौं रैथाने प्रजातिका सुन्दर चराहरू देख्न सकिन्छ।

यिनीहरूको मनमोहक आवाज र सुरिलो स्वरले नदी र जंगल क्षेत्रमा बेग्लै आनन्दको अनुभूति दिने गर्छ। चराहरूको आवाजमा आनन्द र जादु दुवै हुन्छ भने अनेक थरीका चराको बेग्लै आवाजको सम्मिश्रणले आफ्नै तालहरूको संयोजन गरेका हुन्छन्।

जुन आवाज सबैलाई झन् जाडो महिना त यस क्षेत्र, चराहरूको लागि स्वर्ग नै हो। जाडो सुरु हुनेबित्तिकै यस क्षेत्रमा साइबेरियादेखि ताजिकिस्तान, मंगोलिया, काजिकिस्तान, तिब्बत र अनेकौं क्षेत्रबाट पाहुना चरा घुम्न र आहारबिहार खोज्न यो क्षेत्र रोज्ने गरेका छन्। यस्ता चरालाई स्थानीय भाषामा पाहुना चरा भन्ने गरिन्छ।

आगन्तुक पाहुना चरामा धेरैजसो हाँस प्रजातिका चराहरू सुनजुरे हास, (जसको टाउको पहेंलो रातो मिसिएको हुन्छ)। मरुन खडखडे, कालिजुरे, मालकलगायत दर्जनौं पाहुना चरा जाडोमा न्यानो घाम र प्रशस्त आहार पाउने हुँदा यस क्षेत्रमा आउने गर्छन्।

त्रिवेणीदेखि लुम्बिनी हुँदै कपिलवस्तुसम्मका सुन्दर नदी, तालतलैया सिमसार क्षेत्र र खेतबारी एवं सुन्दर बागबगैंचामा हुने अनुकूल मौसम, रमाइलो र घमाइलो वातावरणसँगै टन्नै आहार खान पाइने हुँदा जाडोयाम यस क्षेत्र चराका लागि अनुकूल समय हो। हजारौं माइल यात्रा तय गर्दै सुन्दर क्षेत्र खोजी गर्दा यस क्षेत्रलाई पाहुना चराको रोजाइमा पर्नु सुखद् पक्ष हो। दुई÷चार महिनाको रमाइलो घमाइलो दिन बिताएर यी चरा गर्मी सुरु हुनेबित्तिकै पुनः गन्तव्यतर्फ प्रस्थान गर्छन्।

बिना भिसामा उड्दै आनन्द साथ रमाउँदै विभिन्न राष्ट्र पार गरी नेपालको तराई क्षेत्र पाहुना चराले रोज्नु हाम्रा लागि पनि गौरवको विषय हो। लुम्बिनीभित्र २९० प्रजातिका रैथाने र पाहुना चरा भेटिने गर्छन्। लोपोन्मुख प्रजातिमध्ये चराहरूको राजा सारस त यस क्षेत्रको मुख्य चरा मानिन्छ। जसलाई लुम्बिनी विकास कोषले एक सय हेक्टरभूमि सारस संरक्षणका लागि सिमसार क्षेत्र निर्माण गरिनु थप आकर्षणको केन्द्र बनेको छ ।