Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

मेडिकल कलेज : आन्दोलनका निहुँमा चन्दा

चन्दा नभई लेवी उठाइएको हो, जसबाट आन्दोलनमा सहभागीलाई खानानास्ता खुवाइने छ : सहसंयोजक बस्याल

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल आन्दोलन परिचालन समितिले कर्मचारीबाट रकम उठाउन थालेको खुलेको छ । तलवभत्ता वृद्धिलगायतका सात बुँदे माग राखेर आन्दोलन गर्दै आएको समितिले आन्दोलनमा खटिएका कर्मचारीलाई खाना खुवाउने निहुँमा चन्दा वापत रकम उठाइरहेको खुलेको हो ।

आन्दोलनमा सहभागीलाई खानानास्ता र चियापानीका लागि भनेर समितिले प्रत्येक कर्मचारीबाट रकम उठाउन थालेको आन्दोलनरत कर्मचारी नै बताउँछन । आन्दोलनमा सहभागीलाई खानानास्ता खुवाउनु पर्छ भन्दै नेताहरू सहयोग गर्नुस् भन्दै आउनुभयो–‘एकजना कर्मचारीले भने–‘मैले पाँच सय रूपैयाँ दिएको छु ।’

समितिले कर्मचारीबाट तोकेरै रकम माग्ने गरेको ती कर्मचारी बताउँछन । यो गलत हो उनले भने ‘आफनो इच्छाले सहयोग गर्ने फरक हो तोकरै रकम माग्नु उपयुक्त होइन ।’

आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बश्यालले पनि आन्दोलनका लागि रकम उठाएको स्विकार गरेका छन । आन्दोलनमा कर्मचारीलाई उतारिसकेपछि उनीहरूलाई खाजानास्ता, चियापानी खुवाउनै पर्छ, उनेभने ‘सदस्यता शुल्क (लेवी) उठाइएको हो । चन्दा होइन ।’ उनकाअनुसार युनियनमा आवद्ध भएका कर्मचारीले लेवी बुझाउने गरेका छन् ।

लेवीवाफत निश्चित रकम तोकिएको उनी बताउँछन । तर, समितिले भने मनोमानी ढंगले रकम माग्ने गरेको कर्मचारीको गुनासो छ ।कर्मचारीले तलवभत्ता नपाएर प्रशासन विरूद्ध आन्दोलन गर्ने एक कर्मचारीले गुनासो गर्दै भने–‘फेरि कर्मचारीबाटै रकम माग्ने नेताहरूको यो कुन तरिका हो ?’

सेवासुविधा वृद्धि, नियमित तलवभत्तालगायतका माग राखेर कार्तिक १ गतेदेखि अस्पतालका कर्मचारी आन्दोलनमा छन् । उनीहरूले इमरजेन्सीबाहेक अन्य सवै सेवा ठप्प पारेका छन् । जस्का कारण बिरामीहरुको विजोग भएको छ ।

अस्पतालभित्र नारावाजी र होहल्ला गर्ने गरेका कारण भर्ना भएका बिरामीले झिजो मान्ने गरेको दुखेसो गरेका छन् । यद्दपी अस्पताल प्रशासनले आन्दोलन जति गरेपनि माग पुरा गर्न तत्काल नसकिने बताइसकेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक सुरेश कनोडियाका अनुसार अहिले कर्मचारीले जे माग राखेर आन्दोलन गरेका छन यसको कुनै तुक र अर्थ देखिदैन । यो पुरा हुने सम्भावना पनि छैन ।