Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

कुदुमा ३० करोडको खानेपानी आयोजना

नेपालगन्ज : बर्सेनि खानेपानीको समस्या भोग्दै आएको भेरी नगरपालिका–१३ कुदुमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ३० करोड लागतमा खानेपानी आयोजना निर्माणका लागि कामको थालनीसँगै यो आर्थिक वर्षबाट खानेपानीको समस्या समाधान हुने आशा पलाएको हो ।

तिहारलगत्तै खानेपानीको वैकल्पिकरुपमा तत्काल समाधान गर्न २ करोड ५० लाखको काम अन्तिम चरणमा पुगेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नारायण काफ्ले बताउँछन ।

झण्डै ५० लाख बराबरको लागतमा डिप बोरिङ गरी निकालिएको पानीले दुई वर्षदेखि कुदुवासीलाई बिहानैदेखि बेलुकीसम्म लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता छ । पानी नआएमा भेरी नदीमा जानुपर्ने बाध्यता छ ।

झण्डै तीनसय घरधुरी रहेको ठाउँमा खानेपानीको अभावले सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ । नजिकै नदी, समथर भूभाग भए पनि सिँचाइको अभावमा खेतीयोग्य जमिनमा अपेक्षित उत्पादन हुन सकेको छैन ।

प्रत्येक दिन भेरी नदीको किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आउएकी पानमती विक पानीको दुःखले दिक्क भइसकेको बताइन् । पिउने पानी नभएको कारण सयौँ बिघा जमिन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासी हरि बस्नेत बताउँछन ।