Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

डुडुवामा ‘छोरी बैंक खाता’सँगै ५ लाखको बिमा

साक्षरता दर बढाउने र बालविवाह न्यूनीकरण हुने अपेक्षा, स्थानीय भन्छन : खाता खुलेसँगै दुर भयो छोरीको पढाइ अनि विवाहको चिन्ता

नेपालगन्ज : छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले डुडुवा गाउँपालिकाले सबै छोरकिो बैंक खाता खोलिदिएको छ । छोरीहरूले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु गाउँपालिकाको उद्देश्य भएको गाउँपाकिला अध्यक्ष नरेन्द्र चौधरी बताउँछन् । डुडुवाका ६ वटा वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दती खाता योजना लागू गरिएको छ ।

डुडुवा गाउँपालिका–१ कधैपुरवाका रामदिन बोधीले दुई वर्षीया छोरी सजनाका नाममा बैंक खाता खोलिदिएका छन । अहिले उनको खातामा गाउँपालिकाले १० हजार रुपैयाँ जम्मा गरिदिएको छ । अबको २० वर्षपछि १ लाखको प्रिमियम उनले बुझ्नेछन ।

सजनाजस्तै डुडुवा गाउँपालिकाका धेरै नानीहरू अब बैंक खातावाला भएका छन । गाउँपालिकाले कन्या मुद्धति खाता योजना ल्याएसँगै यहाँका बालिका बैंक खातावाल भएका हुन ।निजी कारखानाका कामदार सजनाका पिता रामदिनले सुरुमा आफैंले केही रकम जम्मा गरेर खाता खोलिदिएका हुन । त्यसपछि गाउँपालिकाले १० हजार थपिदिएको छ ।

पालिका आफैंले रकम जम्मा गरेर खाता खोलिदिन सुरु गरेको छ,’ उनले भने, ‘पछि छोरीहरूको पढाइ अघि बढाउन यो रकम सहयोगी हुने निश्चित छ ।’ खाता खुलेसँगै छोरीको पढाइ अनि विवाहबारे चिन्ता टरेको स्थानीय बताउँछन ।

रामनगर उचुवाकी सुनिता गोडियालाई पनि कान्छी छोरीको बैंक खाता खोलिएपछि मन ढुक्क भएको छ । गोडियाले भनिन्, ‘अहिले पालिकाले बैंक खाता खोलेर पैसा जम्मा गरिदिँदा धेरै खुसी लागेको छ ।’ स्थानीय सरकारले ल्याएको कन्या मुद्दती खाता योजनाले छोरीको सुरक्षा र शिक्षा दुवैमा सहयोग पुग्ने डुडुवाका धेरै महिलालाई विश्वास छ ।

डुडुवामा १ सय ७२ छोरीको खाता खोलिसकिएको छ । उनीहरू सबै दुई वर्षमुनिका हुन । अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय बताउँछन ।

कन्या मुद्दती खाता योजना छोरीहरूको शिक्षा र सुरक्षालाई ध्यान दिई ल्याएका हौं, उपाध्यायले भने, ‘खासमा छोरीहरूको साक्षरता दर बढाउने र बालविवाह न्यूनीकरण गर्ने उद्देश्य हो । त्यसका साथै अभिभावकको क्षति कम गर्न ५ लाखको दुर्घटना बिमा पनि गराएका छौं ।’

२०७७ साउनपछि जन्मेका सबै छोरीको बैंक खाता खोलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा बताउँछन ।