Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

बाँकेमा दसैंतिहारमा कति खसीबोका खपत ?

भारतीय खसीबोका आर्यातमा कमी, स्थानीय उत्पादन खरिदमा जोड, वार्षिक दुई हजार ६ सय मेट्रिक टन मासु उत्पादन

नेपालगन्ज : बाँकेमा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गरेको देखिएको छ । बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ ।  बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले खसीबोका पालन गरेका  छन् ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका तथ्याङ्क अनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५ सय हाराहारी खसीबोका खपत हुने अनुमान छ ।

दसैँ र तिहारको एक महिनाको समयमा ४ सय ६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने देखिएको छ । ठूलो संख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको छ ।

८० प्रतिशत यहीको उत्पादन र बाँकी बाहिरबाट खसीबोका आउने गरेको र यहाँ उत्पादन भएका खसीबोका विभिन्न जिल्ला पुग्ने गरेका छन । जिल्लामा वार्षिक दुई हजार ६ सय ८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने अनुमानित तथ्याङ्क छ ।

अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो। विगतका वर्षमा दसैँ तिहारको समयमा भन्दा अहिले बढी खसीबोका खपत हुने अनुमान छ ।

दसैँ तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ। यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् ।

खसीबोकाको मासु घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको पशु सेवा कार्यालय बाँके बताउँछ ।

उसकाअनुसार गत वर्ष पाँच हजार मात्रै खसीबोका खपत भएका थिए। यस वर्ष यो संख्या दोब्बर हुने उनको अनुमान छ। पसलमा आउने खसीबोका छिमेकी जिल्लाका पनि हुने गरेका छन ।

उसकाअनुसार बर्दिया, सुर्खेत, कैलाली, दाङबाट बाँकेमा खसीबोका आउने गरेका छन । जिल्लामा तीनसय हाराहारी मासु पसल रहेका छन् । पछिल्ला वर्षमा जिल्लाका ग्रामीण क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालन थालिएको छ ।

विज्ञकेन्द्रमा सयौ फर्म दर्ता भए पनि दर्ता नभई धेरै फर्म सञ्चालनमा छन् । ग्रामीण क्षेत्रमा सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गरिँदै आएको छ । मुख्यत पहाडी क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गरिँदै आएको छ ।

राप्तीसोनारी, डुडुवा, बैजनाथ, कोहलपुर लगायतका पालिका तहका गाउँका किसानले सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गर्दै आएका छन् । पहिलेपहिले भारतबाट खसीबोका आउने गरेको भए पनि पछिल्लो समय स्वदेशी उत्पादनले नै माग धान्दै आएको व्यवसायी बताउँछन ।

उद्योग बाणिज्य संघ नेपालगन्जका महासचिव चिरन्जीवी ओलीका अनुसार पछिल्लो एक वर्षयता विगतको तुलनामा भारतबाट खसीबोका आउन छाडेका छन् ।

बाहिरबाट खसीबोका ल्याउँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पछिल्लो समय खसीबोका आयात भएको देखिँदैन । सरकारले पशुपालनमा अनुदानसमेत दिँदै आएको भन्दै उनले स्वदेशमै आत्मनिर्भर हुने गरेको उत्पादनमा जोड दिनुपर्ने बताए ।