Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

बिक्रि भएन सुपथ मूल्यको चामल

बजारमा कालोबजारी : बजार अनुगमनमा उपभोक्ता हकहितका ठेकेदार उदासीन, ठेकेदार नै दशै खर्चको जोहोमा सक्रिय भएको खुलासा

नेपालगन्ज : दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले नेपालगन्ज गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । तर, अहिले उक्त चामल खरिदमा गिरावट आएको छ ।

संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा एक हजार ५ सय १५ मा बिक्री गरिरहेको खाद्य संस्थानले बताएको छ ।

उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताएको छ ।निर्धारित बजार मूल्यभन्दा प्रतिकिलो पाँच रुपैयाँ कम गरेर बिक्रीमा राख्दा समेत १७ दिन बितिसक्दा पनि अपेक्षाअनुसार चामल बिक्री भएको छैन ।

सरकारले बिक्री गर्ने चामलभन्दा बजारमा सस्तो र गुणस्तरीय चामल पाउँदा सो चामल बिक्री हुन समस्या भएको हो । बजारमा पाइने चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट चामल बिक्री नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय प्रमुख रामबहादुर विष्ट बताउँछन ।

यहाँको चामल महँगो मानेर उपभोक्ताले किन्नै मान्दैनन्,उनले भने, ‘घरनजिकै सस्तोमा चामल पाइने भएपछि उपभोक्ता चामल किन्न गोदामसम्म धाउन चाहेको देखिएन ।’

अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टिम जिरा मसिनो गरी तीन प्रकारका चामल सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ । अरुवा मोटा चामल प्रतिकेजी ४२, अरुवा मध्यम चामल प्रतिकेजी ४६ र स्टिम मसिनो चामल प्रतिकेजी ६० रुपैयाँमा बिक्रीका लागि राखिएको छ ।

सर्वसाधारणलाई लक्षित गरेर प्रतिकेजीमा पाँच रुपैयाँ छुटमा सुपथ मूल्य पसल सञ्चालन गरेका हौं, उनले भने, ‘केन्द्रले निर्धारण गरेको मूल्यमा छुट पनि दिएकै छौं । तर, सुपथ मूल्य पसलबाट अहिले चामल बिक्री भएको छैन ।’

पहाडमा निजी क्षेत्रको चामल महँगो र सरकारी चामल सस्तो हुँदा त्यहाँ सरकारी चामलको माग अत्यधिक छ । तराईमा भने चामलको माग धेरै भए पनि सरकारले निजी कम्पनीसरह सस्तो र सर्वसाधारणको पहुँचमा पु¥याउन नसक्दा यहाँ चामल बिक्री हुन नसकेको हो ।

‘निजीभन्दा पाँच÷दस रुपैयाँ सस्तो भए पनि महँगो भाडा तिरेर गोदामसम्म चामल लिन आउने कमै हुन्छन्,’ सूचना अधिकारी महतोले भने, ‘उपभोक्ताको माग सम्बोधन हुने गरेर मूल्य निर्धारण गर्नुपर्छ । उनीहरूको सहज पहुँचमा सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्छ ।’

बजारमा कालोबजारी छाएको छ । खाद्यको चामल बिक्रि हुदैन । तर पनि उपभोक्ता हकहितका नाममा खोलिएका दलाली ठेकेदारी प्रथाका एनजिओ भने बजार अनुगमनमा समेत उदासीन छन ।

अनुगमनका ठेकेदार समेत आफनै दशैको जोहोका लागि कालोबजारीको वाल नदिएर जोडजाममै व्यस्त रहेको देखिएको छ । केही अनुगमनका ठेकेदारहरू आफै दशै खर्चको जोहोमा लागि रहेको बताइएको छ ।

सरकारी अनुगमन समिति समेत उदासीन छ । स्थानीय तहमा रहेको नेपालगन्ज उपमहानगरपालिकाको अनुगमन समिति केही सक्रिय देखिएपनि अन्य तहमा भने अनुगमन हुन सकेको छैन ।