Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

बेवारिसे गाईको संरक्षणमा सक्रिय प्याकुरेल दम्पति

नेपालगन्ज : आज र भोलि हामी गाई–बाछा खोजेर पूजा गर्छौं । खुवाउछौं । अरू बेला त सडकमै चौपाया असरल्ल र असुरक्षित हुन्छन् । दुर्घटनामा पर्ने र मर्ने संख्या दिनानुदिन बढ्दै छ ।

अचेल मान्छे यति स्वार्थि भएका छन्, दूध दिउन्जेल गाई पाल्छन् । त्यसपछि सडकमै छाडिदिन्छन् । सडकमा यसरी छाड्नु भनेको मार्नु सरह हो । त्यहाँ न हेरचाह गर्ने हुन्छ न उपचार गर्ने ।

हिन्दुहरू गाईलाई पशुधनका रूपमा लिन्छन् । लक्ष्मी र गौमाताका रूपमा पूज्छन् । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्छन्। गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा पवित्र तुल्याउने संस्कार छ ।

यही संस्कार हामीलाई बोझ लाग्न थालेको छ । त्यसैले त आवश्यकता भइन्जेल उपभोग गर्छौ । नभएपछि सडकमा फालिदिन्छौ । पृथ्वी सबको साझा हो, सबले बाँच्न पाउनुपर्छ । यहि मान्यता अनुसार केही सेवाकर्मीहरू आजभोली सडकमै गाईबस्तुको सेवामा समर्पित हुँदै आएको देखिन्छ ।

समाजसेवा होस वा अन्य कुनै सेवा गर्न धनको थुप्रो मात्रै भएर हुदैन, मन पनि चाहिन्छ । यसको ज्वलन्त उदाहरण बनेका छन दैलेख नारायण नगरपालिका ६ नयाँगाउँका प्याकुरेल दम्पति ।

केही बर्षअघि सम्म सरकारी जागिरे भएर देशर र जनताको सेवामा इमान्दारीका साथ लागिेका चक्रबहादुर प्याकुरेल र उनकी श्रीमति सरस्वती प्याकुरेल यतिबेला दिनदुखी, जेष्ठ नागरिकको सहयोगी मात्रै नभई सडकमा छाडा छोडिएका गाईबस्तु जो विरामी छन उनीहरूको सेवामा समर्पित हुँदै आइरहेका छन ।

यसअघि रामपुरमा धार्मिक मन्दिर निर्माण गरेर जेष्ठ नागरिकका लागि एउटा आश्रम बनाई पुण्य कमाएका प्याकुरेल दम्पतिले अहिले नारायण नगरपालिकामा छाडा छोडिएका हुन वा घरपालुवा गाई बस्तुको स्याहर गर्दै आएका छन ।

आफना मात्रै होइन सडकमा यस्ता बस्तु विरामी देखे वा उनीहरूको अबस्थामा केही कमजोरी भएको महशुस भए आबश्यकता अनुसारको सेवामा उनीहरू लाग्ने गरेको देखिएको छ ।

छाडा गाईबस्तुको व्यवस्थापन र विरामीको औषधी उपचारको जिम्मेवारी राज्यको हो । अर्थात स्थानीय निकायले यसमा सोच्नु पर्ने हो तर, दैलेखका स्थानीय निकाय यस बिषयमा मौन रहेको बेला व्यीक्तगत खर्चमै प्याकुरेल दम्पतिले यसरी मानवसेवा मात्रै होइन पशुप्रतिको माया र सेवा भाव प्रकट गरिरहेका छन ।

एनिमल राईटका नामले थुप्रै एनजिओ दर्ता भएका देखिन्छन । तर, यी एनजिकोले एनिमल राईटर्स भन्दै अधिकारलाई कमाउधन्दामा परिणत गरिरहेका बेला प्याकुरेल दम्पतिको यो समपर्णलाई चौतर्फी प्रशंसासहित सेवाभावले हेरिएको छ ।