Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

काँग्रेस सदस्यता विवाद : बेलुकासम्म समाधान हुन्छ : सचिव पौडेल

नेपालगन्ज नगर सभापतिमा उमा थापाको चर्चा

नेपालगन्ज : पछिल्लो पटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी छ । बाँके कांग्रेसले जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन। काग्रेस बाँकेका सचिव तप्त पौडेलले आइतबार बेलुकासम्म भएपनि विवाद समाधान हुने र नामावली सार्वजनिक गरिने बताएका छन ।

सेतोखरी मिडियासँग आइतबार विहान कुराकानी गर्दै सचिव पौडेलले पार्टीमा देखिएको सदस्यताको विवाद समाधानको अन्तिम चरणमा पुगिसकेको र आइतबार बेलुकासम्म सबै फाइल हुने विश्वास गरिएको बताए ।

उनकाअनुसार आइतबार ससदस्यता विवाद सकिए र नामावली सार्वजनिक भए तोकिएकै समयमा बाँकेमा पनि वडाको अधिवेशन हुनेछ ।महाधिवेशन कार्यतालिकाअनुसार यही असोज ५ मा बाँके सहितका २० जिल्लाभित्र वडामा अधिवेशन हुनुपर्नेछ ।

तर कांग्रेसले प्रदेश नम्बर २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन।

१३ जिल्लामध्ये कांग्रेसले चार जिल्लाको क्रियाशील सदस्यता विवाद भने मिलाइसकेको छ। डोल्पा, सर्लाही, सुर्खेत र कैलालीको विवाद मिले पनि नाम सार्वजनिक भएको छैन।

वडा अधिवेशन ढिलाइ हुँदा गाउँ÷नगर अधिवेशन प्रभावित बन्ने भएको छ । यही असोज ९ मा गाउँ÷नगर अधिवेशन तोकिएका छन्। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ÷नगर अधिवेशनका मतदाता हुन् ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं अधिवेशन गर्ने तय गरेको छ । वडा अधिवेशन नै समयमा नहुने भएपछि यो अधिवेशनको तालिका फेरि पनि प्रभावित हुने देखिएको छ ।

नेपालगन्ज नगर सभापतिमा उमा थापाको चर्चा

काँग्रेस बाँकेमा सदस्यता विवाद कायमै रहेका बेला नेपालगन्ज उपमहानगरमा चुनावी माहोल भित्रभित्रै तातिएको छ ।नगर सभापतिले स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारी पाउने सम्भावना बढ्ेसँगै यहाँ कतिपयले युवा नेताहरू नगरसभापति पदका प्रत्यासी देखिउका छन ।

नेपालगन्ज उपमहानगर सभापतिमा उमा थापा मगर, अहिलेका सभापत प्रशान्त विष्ट, तरूण दलका सचिव विनोद रिजालको बजारमा यतिबेला चर्चा छ ।

उपप्रमुख थापा कोइराला परिवारसँग निकट मानिन्छिन् । रिजाल र विष्ट देउवा समूहका हुन् । चर्चामा तीन जनाको नाम आए पनि अन्ततः विष्ट र थापाको प्रतिस्पर्धा हुुने आँकलन कार्यकर्ताले गरेका छन् ।

तर, यसमा पनि विष्ट पटक पटक नगर सभापति भैसकेको र उनको दुई कार्यकालमा नगरमा खासै प्रभावकारी काम हुन नसकेको कारण पनि अहिले नेपालगन्ज उपमहनागरपालिकाको सभापतिमा उमा थापको सम्भावना धेरै देखिएको काँग्रेसबृतमा देउवा समूहकै केही नेताहरू बताउँछन ।

विष्ट दुुई कार्यकाल नेतृत्वमा रहेकाले अब आफूले सभापति पाउनुपर्ने उपमेयर थापाकै अडान छ । तर, विष्टले नगरसभापति भन्दा माथि चाहेजस्तो पद पाउने नदेखिए फेरि दोहोरिने इच्छा व्यक्त गर्दै पार्टीभित्र सोही अनुसार तयारी गरेका छन् । पार्टीपंक्तिले भने विष्टलाई जिल्ला कमिटी तिर लैजाने मनशाय देखाएको छ ।

उनी दुई पटक नगरसभापति भैसकेको कारण अब नगरमा भन्दापनि पार्टीको जिल्ला कमिटी तिर बसेर काम गर्नुपर्छ काँग्रेस बाँकेका एकजिम्मेवार नेताले भने ‘ एउटै मान्छेलाई सधै एउटै पदमा राखिरहन पनि हुँदैन ।’

नेपालगञ्जमा १३ औं महाधिवेशनमा १३ सय क्रियाशील सदस्य रहे पनि अहिले ३ हजार हाराहारीमा सदस्य हुनसक्ने सभापति विष्टले बताए । यद्यपि अन्तिम सू्ची आइसकेको छैन ।
अहिले संगठन कमजोर भएका कारण नगरपालिकाका कामको पनि जस पाउन कठिन हुने अवस्था रहेको भन्दै उपमेयर थापाले पार्टीलाई बलियो बनाउँदै कार्यकारी पोष्टमा महिला पुग्दा काम गर्न सक्ने सन्देश दिन पनि आफूले सभापतिका दाबी गरेको बताइन् ।
सभापतिका आकांक्षीहरु आ–आफ्नो ढङ्गबाट अहिले लबिङ गर्ने तथा भेटघाटलाई तीव्रता दिइरहेको पाइन्छ ।

बाँकेको नेपालगञ्ज काँग्रेसका तत्कालीन सभापति स्व.सुशील कोइरालाको गृहनगर पनि हो । तर उनको जिल्लामा अहिलेसम्म पार्टीको क्रियाशील सदस्यता विवाद नटुङ्गिएका कारण नगरअधिवेशन पनि तोकिएको मिति अर्थात् असोज ९ गते हुनेमा अन्योल नै छ ।