Loading... आजः ७ आश्विन २०७८, बिहीबार ।। Thursday 23rd September 2021

बाँकेमा पत्रकार पुलिसका सुराकीदेखि असुलीकर्तासम्म

पत्रकारका नाममा विकृति बढ्दै, महासंघ उदासीन, सुराकी गर्ने र असुलीकर्तासँग सेटिङ्ग, वास्तविक पत्रकारलाई पुलिसको धम्की

नेपालगन्ज : बाँकेमा पत्रकारीताका नाममा केही यक्तिले पुलिसको सुराकी गर्ने, सिमाबाट तस्करी तथा दलाली गर्ने लगायतका काम पनि गर्दै आएको खुलेको छ । नेपाल–भारत सीमा क्षेत्रका बाँकेसहितका जिल्लामा कतिपय अनलाइन त पैसा असुलीका लागि मात्र सञ्चालन गरिएका छन्।

पत्रकारको परिचयपत्र देखाउने र प्रहरी, तस्करी, विचौलिया र व्यवसायीसँग पैसा असुली गर्ने गरेको विभिन्न समयमा गुनासाहरु छताछुल्ल भइरहन्छन्। यसले पनि प्रष्ट पार्छकी मोफसलमा पत्रकारिताका नाममा थुप्रै विकृति हुँदै आएका छन्।

पत्रकार र पत्रकारिताको नाममा थुप्रै बेथिति बढ्दै जाँदा समाजमा पत्रकार र पत्रकारिता प्रतिको जनविश्वास, विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ। यसको मारमा व्यावसायिक पत्रकारहरु परेका छन्।

जो दिनभरि जनता र राज्यसँग पुलको काम गर्न सूचना संकलनका लागि तल्लीन छन्। व्यक्तिगत फाइदाका लागि पत्रकारिता पेसामा आबद्ध हुने व्यक्तिले नै बेथिति बढाउने गरेको श्रमजीवी पत्रकारहरु बताउँछन्।

वास्तविक पत्रकारले पैसा असुलीलगायत बेथिति नगर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए। ‘वास्तविक पत्रकारले गलत कार्य गर्दैन,’ उनले भने, ‘गलत कार्य गर्ने भनेकै गैर पत्रकारले हो।’ पत्रकारको नाम र परिचयपत्रको आधारमा गैर पत्रकारले आचारसंहिताविपरीत विकृति फैलाएको उनले बताए।

यसले व्यावसायिक पत्रकारितामा ठूलो चुनौती थपिएको उनको भनाइ छ। पेशा, व्यवसाय र अनुभव अर्कै छ तर पनि मिडियामा हालीमुहाली गर्न खोज्दा थप बेथिति बढ्दै गएको छ। पत्रकारिताका नाममा परिचयपत्र भिरे पनि उनीहरु समाचार संकलनभन्दा अन्य धन्दामा बढी सक्रिय हुने गरेका छन्।

पत्रकारिताको नाममा या कुनै पनि बहानामा पैसा असुली हुन्छ या गरिन्छ भने त्यो पत्रकारिताको मर्म, पत्रकार आचारसंहिता र पत्रकार महासंघको विधानविपरित भएको नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष शुक्रऋषी चौलागाईले बताए।

यो कदापी स्वीकार्य हुनुहुँदैन। असुली जस्ता कार्यले अनेकन चुनौती सिर्जना भएका छन्,’ उनले भने, ‘विशेषगरी शुद्ध तथा व्यावसायिक पत्रकारिता गरेर जीवन निर्वाह गर्ने पत्रकारलाई नै समस्या सिर्जना भएको छ।’

यस्ता बेथितिले पत्रकार र पत्रकारिताप्रतिको दृष्टिकोण नै परिवर्तन गर्ने भन्दै उनी भन्छन्, ‘यस्ता कार्य रोक्न सबैभन्दा पहिले त स्वनियमन र आचारसंहिता पालना नै हो। यदि रोकिँदैन भने पीडित पक्ष या प्रत्येक्ष व्यक्तिले नै कानुनी प्रक्रिया अपनाउनु पर्छ।’

समाचारको विषय हो भने प्रेस काउन्सिलले पनि अनुगमन र कारबाही प्रक्रिया बढाउनु पर्ने उनको भनाइ छ। ‘कुनै सञ्चार माध्यमको रिपोर्टरले पैसा असुली वा कुनै विकृतिजन्य गतिविधि गरिरहेको छ भने संवद्ध सम्पादकले पनि कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ,’ उनले भने, ‘पत्रकार सदस्यको अनुशासनको सन्दर्भमा पत्रकार महासंघले आफ्ना सदस्यको आचार संहितालाई पालना गरे नगरेको अनुगमन गर्ने, कसैको बारेमा गुनासो आइरहेको छ भने प्रमाणका आधारमा कारबाही गरी स्वच्छ पत्रकारिताको वातावरण सिर्जना गर्नुपर्छ।’

सञ्चार क्षेत्र सूचनाको एउटा विश्वसनयी माध्यम भएको हुँदा समुदायले आमसञ्चार क्षेत्रलाई पछ्याइरहेको नेपाल प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशिल बस्नेतले बताए।

सूचना संकलन पत्रकारले गर्दछ। आमस्रोता, दर्शक र पाठकसम्म पुर्‍याउँदासम्म विभिन्न चरण पार गरिन्छ उनी भन्छन्, ‘सूचना तथा सञ्चार सही ढंगले पस्कन सके नागरिकलाई आनन्द महसुस हुन्छ।

त्यसका लागि पत्रकारितालाई व्यावसायिक बनाउन सक्नुपर्छ।’ सूचना प्रवाह गर्ने सञ्चार माध्यम र त्यसमा कार्यरत पत्रकार व्यावसायिक बन्न नसक्दा केहीलेकाहीं विवादमा पर्ने गरेको उनको भनाइ छ।

पछिल्लो समय पत्रकारितामा प्रभाव पार्ने विभिन्न तत्व सक्रिय भएको भन्दै उनी भन्छन्, ‘त्यस्ता तत्वलाई पत्रकार पत्रकारितालाई बदनीयत बनाएका छन्।’ प्रसारण तथा प्रकाशन भएको सामग्रीले आफ्नो पक्षमा नकारात्मक प्रभाव पार्न नदिन मोलमोलाई हुने गरेको पनि उनले जनाए।

समाचार वा सामाचार योग्य सामग्रीमाथि मोलमोलाई हुने प्रवृत्तिको विकास हुँदा श्रमजीवी पत्रकारमाथि प्रहार हुने भन्दै उनले भने, ‘जुन कार्यले पत्रकार पत्रकारितामाथि जनविश्वास गुम्दै गएको छ।’

पत्रकारिता पेसाप्रतिको निष्ठालाई बिर्संदा आपराधिक घटना हुने गरेका छन्। जसमा पत्रकारहरुको संलग्नताका कुराहरु बारम्बार सामाजिक सञ्जालमा छरपस्ट हुन्छन्।

नेपाल प्रेस काउन्सिलले तयार पारेको आचारसंहितामा पत्रकार स्वयंले नै आफ्नो सामग्रीको सेन्सर गर्न सक्ने छ। तर यसलाई कम्जोर बनाइ विभिन्न प्रभावमा पर्ने र मोलमोलाइमा फस्ने काम हुने गरेको लामो समयदेखि मोफसलमा पत्रकारिता गर्दै आएको बस्नेतको दाबी छ।

‘पत्रकारको नैतिकताका माथि प्रश्न उठ्नु प्रेस स्वतन्त्रतामाथि उठ्नु हो,’ उनी भन्छन्, ‘त्यस कारणले पनि अनुशासित, मर्यादित र विश्वसनीयताका लागि स्वयम् पत्रकारले नै इमान्दारिता देखाउन सक्नुपर्छ।’

यसका लागि नेपाल पत्रकार महासंघले अग्रणी भूमिका खेल्नु पर्ने उनको सुझाव छ। ‘अधिकारमात्र मागेर पुग्दैन कर्तव्यलाई पनि भूलन दिन हुँदैन। पत्रकारिताको साँख बचाउने भनेकै यसको इमान्दारिता हो,’ बस्नेतले भने, ‘जुन कसैको प्रभावमा पर्नु हुँदैन।’

पत्रकारका नाममा युट्यूब, फेसबुक लाइभ दिने र आफूलाई पत्रकारको संज्ञा दिने व्यक्तिबाट आज नेपालमा वास्तविक पत्रकारहरुको अस्तित्वमाथि प्रश्न उठेको नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्ले बताए।

पत्रकारको ढोग गर्ने पत्रकारिता गरेजस्तो गर्नेलाई आचारसंहिता सिकाउन जरुरी छ उनी भन्छन्, ‘यी र यस्ता व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कानुनी उपचार खोजिनुपर्छ।’

पत्रकारिताभित्रको पनि आफ्नै नीति, परिधी र यसका केही दायरा हुने भन्दै उनले त्यो दायरा र परिधीभित्र रहेर समाचार लेख्नेहरु नै वास्तविक पत्रकार भएको बताए।

मोफसलमा व्यावसायिक पत्रकारिताका अभ्यास लामो इतिहास नहुँदै यसरी गैर पत्रकारले श्रमजीवी पत्रकार र पत्रकारितामाथि प्रहार गर्नु सूचनाको विश्वासनीयता कमजोर पारेको कतिपयको भनाइ छ।

सूचना कमजोर गराएर व्यक्तिगत लाभ लिनलाई पनि केही व्यक्तिहरु मिडिया सञ्चालन गर्ने गरेका छन्। जसका कारण पत्रकारिताको विश्वनीयतामाथि बेलाबेला प्रश्न उठ्दै आएका छन्। सहयोग नागरिकबाट

फाईल फोटो