Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

बाँकेका अधिकाशं सहकारी जोखिममा

बचतकर्ताको करोडौं डुब्दै, नाम चलेकै सहकारीमा बचत अपचलन, बचतको रकम जग्गा पल्टिङ्गमा खर्चिदै

नेपालगन्ज : बाँके सहकारी डिभिजन कार्यालयमा दर्ता भएकामध्ये अधिकाशं सहकारी जोखिममा देखिएका छन । सहकारीले लक्ष्य अनुसार काम गर्न नसक्दा र सहकारीप्रति आम नागरिकको अबिश्वास बढ्दै गएपनि अधिकाशं सहकारी डुब्दै छन ।

कतिपय सहकारी त बिक्रिको तायरीमा । केही बिक्रि भैसकेका छन । केही बन्द भएका छन ।केही बन्द गर्नका लागि वहाना खोजि रहेका छन । जसले लाखौं नागरिकको करोडौं बचत र लगानी जोखिममा देखिएको छ ।

बाँकेको नोपलगन्ज र कोहलपुरमा समेत नाम चलेका दर्जन सहकारीको अबस्था समेत कमजोर देखिएको छ । सहकारीमा नागरिकले गरेको बचत सहकारीका सन्चालकले अन्यत्र  जग्गा दलाली, पल्टिङ्ग लगायतका क्षेत्रमा लगाउने गरेको पनि देखिएको छ ।

बचतकर्ताले समयमा ऋण पाएका छैनन । तर, सन्चालकले बचतकर्ताकै रकमबाट जग्गा खरिद देखि भौतिक पुर्वाधार समेत जोडन सक्षम भएको देखिएको छ । जसले सहकारीप्रति आम नागरिकको बिश्वास घट्दै जान थालेको छ ।

बाँकेका थुपै सहकारी संस्थामा आर्थिक अपचलन हुँदा पनि बचतकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ । अपचलनमा परेका कतिपय सहकारी बन्द भइसकेका छन् । केही सहकारी बचत फिर्ता नगरी वेपता छन ।

सहकारीको कूल पूँजीका ७० प्रतिशतभन्दा बढी रकम अपचलन गर्ने नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेड पनि हो । यो त एउटा उदाहरण मात्रै हो अहिले आन्तरिक रूपमा नेपालगन्जमा चलेका टप सहकारीको अबस्था पनि उस्तै छ ।

कतिपय सहकारीको साधारण सभा समेत हुन सकेको छैन । कतिपयको लेखापरिक्षण छैन । हचुवाको भरमा बचत उठाउने र सन्चालकले मोजमस्ती तथा आफु खुशी लगानी गर्ने होडबाजी चलेको छ ।

केही सहकारीको नाममा सहकारी डिभिजन कार्यालयमा मुद्दा समेत परेको छ । तर, आर्थिक चलखेल र पहुँचका कारण ती मुद्दामा सहकारी डिभिजनले अहिलेपनि सुनुवाई गर्न सकेको छैन ।

नेपालगन्जमा चलेका केही सहकारीका नाममा पुर्व शेयरहोल्डरहरूले सहकारी डिभिजन कार्यालयमा उजुरी गरेको तर आर्थिक चलखेलका कारण उक्त उजुरीमाथि हसकारीले छानबिन समेत नगरेको खुलेको छ ।

खजुराको शुभारम्भ बचत तथा ऋण सहकारी संस्था, भूमि बचत तथा ऋण सहकारी संस्था, आश्मा बचत तथा ऋण सहकारी संस्थामा यसअघि अपचलन भएको थियो । जिल्ला सहकारी संघ बाँकेका अनुसार बाँकेमा करिब पाँचसयबढी सहकारी दर्तापछि सन्चालनमा छन् ।

केही सहकारीमा बचतकर्ताको रकम जोखिममा परेको संघका अध्यक्ष प्रेम सुवेदी बताउँछन । कतिपय सहकारीले ऋणीले लिएको ऋण फिर्ता दिन सकेका छैनन् । दृष्टिबन्धक गरेका घरजग्गा फुकुवा गर्न समस्या देखिएको छ ।