Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

४८ करोडका खेलकुद पूर्वाधार प्रयोगविहीन

संरक्षणमा खेलकुद विकास समिति नै उदासीन, स्थानीय तह बेखबर, खेलाडी निरिह

नेपालगन्ज : बाँके आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका निहुँमा दर्जनौ खेल संरचना निर्माण गरिएका छन । करोडौ खर्चे बनाइएका ती खेलकुदका संरचना तिबेला संरक्षणको अभावमा जीर्ण मात्रै बनेका छैनन खेलकुद गतिविधीमा प्रयोग समेत हुन सकेको देखिदैन ।
कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचनामा पनि प्रयोगमा आउन नसकेको खेलकर्मि बताउँछन । दुई वर्षदेखि सीमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचना कोरोना महामारी फैलिएसँगै थलिएका पनि छन् ।

बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण भएका थिए । नेपालगन्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्रयाक र जुडो हल निर्माण भएका छन् ।

बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् । रङ्गशाला परिसरमा फुटबल मैदानबाहेक करोडौँको लगानीमा पौडीपोखरी, सुटिङ रेञ्ज, भारोत्तोलन एकेडेमी निर्माण छन । तर, यी सबै पुर्वाधार अहिले प्रयोग हुन सकेका छैनन ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफू मातहतमा रहेका संरचना धेरै स्थानमा व्यवस्थित भएको दाबी गरेको छ । ७७ वटै जिल्लामा राखेपका संरचना रहेका छन् । केही संरचनाको आफ्नै नाममा लालपुर्जा रहेको छ । केही भोगचलनको आधारमा सञ्चालन भइरहेका छन् ।

तर पछिल्लो समय कोरोनाका कारण केही संरचना प्रयोगमा आएका छैनन् । खेलकुद गतिविधिलाई चलायमान बनाउने संस्था राखेपले देशैभर रहेका आफू मातहतका पूर्वाधार व्यवस्थित भएको बताएको छ ।

सबै ठाउँका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको र केही ठाउँमा व्यवस्थित गर्न बाँकी रहेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापा बताउँछन । तर, बाँकेमा रहेका खेल संरचनाको भने हरिविजोग देखिएको छ ।

देश अहिले संघीय संरचनामा चलिरहेको छ तर राखेपले भने अझै आफ्ना गतविधि संघीय ढाँचामा सञ्चालन गर्न सकेको छैन । जारी भएको नयाँ खेलकुद ऐनमा नियामावली बन्न बाँकी छ । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक गठन भएपछि एक पटक पनि बस्न सकेको छैन ।

जसले गर्दा पूर्वाधार निमार्णका कामदेखि संघीय ढाँचामा ढाल्न राखेपलाई ढिलाइ भइरहेको छ । विनियोजन भएको बजेट अपर्याप्त हुँदा फ्रिज भइरहेको छ । रंगशाला र बृहत रंगशाला एकैपटक निर्माण गर्न पर्याप्त बजेट नहँदा समयमा पूरा गर्न हुन सकेका छैनन ।