Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

शहरमा गुमनाम : महेन्द्र पुस्तकालय

संरक्षण अभावमा धरासायी, १२ हजार पुस्तक वेवारिसे, दराजदेखि भवन समेत जीर्ण, शिक्षाप्रेमीदेखि जनप्रतिनिधी उदासीन

नेपालगन्ज : बाँकेको नेपालगन्ज शहरमा रहेको ऐतिहासिक महेन्द्र पुस्तकालय गुमनाम छ । उचित रेखदेखको अभावमा धरासायी बन्दै गएको छ । पुस्तकालयमा एकै व्यक्तिको एकछत्र रजाइँ भएकाले पनि यो धरासायी बन्दै गएको हो ।

पुस्तकालय अहिले नाम मात्रको छ । भवन आफ्नै भएर पनि जीर्ण अवस्थामा छ । पुस्तकालयमा समयसापेक्ष पुस्तकहरु नै छैनन् । पुस्तकालयमा अध्ययन गर्न जानेको संख्या औँलामा गन्न सकिन्छ ।

यो पुस्तकालय २००३ मा स्थापना भएको हो । त्यतिबेलाका युवाहरुले शिक्षा तथा पठनशीलताको विकास गर्ने उद्देश्यले पुस्तकालयको स्थापना गरेका थिए । पुस्तकालयमा आजीवन र साधारण सदस्य रहने व्यवस्था छ । तिनै सदस्यबाट सञ्चालक समिति चयन हुने प्रावधान छ ।

ज्ञानको भण्डारका रूपमा स्थापना गरिएको पुस्तकालय अहिले बेकामको देखिएको छ । पुस्तकालयलाई झन उपयोगी बनाउनुपर्नेमा जीर्ण हुँदै गएकोप्रति नेपालगन्जका शिक्षाप्रेमी देखि जनप्रतिनिधीले समेत चासो देखाएका छैनन ।

पुस्तकालयको दुई तला भवन छ । ३० दराज छन । १२ हजारभन्दा बढी पुस्तक संकलन गरिएका छन । भारतीय साहित्य, संस्कृति, पत्रपत्रिका र उपन्यास पुस्तकालयमा पाइन्छन । राणा र पञ्चायतकालमा भारती साहित्यबाट नेपालगन्ज प्रभावित थियो । युवा आकर्षित गर्न आधुनिक शैली अपनाउन जरूरी रहेको देखिएको छ ।

दराजमा पुस्तक लहरै मिलाएर राखिएको छ । लामो समयदेखि पुस्तक खलबलिएका छैनन । कुर्सीमा बसेर पढ्न विद्यार्थी छैनन । महेन्द्र पुस्तकालयले दुई दशकदेखि विद्यार्थी देखेको छैन । ‘पढ्न कोही आउँदैन,’ पुस्तकालयका प्रमुख सच्चिदानन्द चौवेले भने, ‘विद्यार्थी नआएको त जुग भइसक्यो ।’

नेपालगन्ज उपमहानगरपालिले पुस्तकालय संस्कार विकासमा नीतिगत खासै योजना बनाएको छैन । नगरप्रमुख डाक्टर धवलशमशेर राणाले किताब पढ्नुभन्दा इन्टरनेटमा युवा पुस्ता रमाउन थालेकाले इलाइब्रेरी कन्सेप्ट डेभलोप गर्ने बताउँदै आएका छन । यद्यपि कहाँ, कहिले र कसरी कति बजेटमा गर्ने त्यसको कुनै टुंगो छैन ।