Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

मोबाईल पत्रकारिता : आधुनिक र प्रविधिमैत्री

नेपालगन्ज : पत्रकारिता समाजका बिषयबस्तु र निश्चित क्षेत्र भित्रको आयामहरुलाई केलाउने महंगो साधन हो। यसले दक्षता, सकारात्मकताको दृष्टी,प्रभावकारिता र जिम्मेवारीबोधको भावनालाई प्रमुख मानेको हुन्छ। पत्रकारिता ति बस्तुहरुको उत्पादन र वितरण हो, जसमा कुनै व्यक्ति बिशेष, समाज र राष्ट्रका बिभिन्न आयामहरुको अवस्थाको जानकारी हुन्छ। कुनै पनि क्षेत्र यो बिना पूर्ण हुन सक्दैन। यसले आमजनतालाई सुचना प्रदान गर्नुका साथै खबरदारी गरिरहेको हुन्छ । र, गर्नु पनि पर्छ ।

नेपालमा पत्रकारिताको ईतिहास विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै पछि मात्र यसको विकास भएको देखिएको छ । अझ पश्चिम नेपाल त्योमा पनि बाँकेको पत्रकारिता इतिहास र महिमा तथा यसको गरिमा फरक देखिन्छ । नेपालमा छापाखानाको बिकास पनि ढिलो गरी भएको हो।

नेपालमा भन्दा करिब ३०० बर्ष अघि सन् १५५० मा भारतमा छापाखानाको बिकास भैसकेको थियो। नेपालमा भने १९०८ मा जगं बहादुर राणा बेलायत बाट फर्कदा फलामे हाते प्रेस ल्याईएको थियो । यसैलाई नेपालको पत्रकारिता ईतिहासमा प्रथम मानिदै आएको इतिहास छ। जसलाई गिदेप्रेस पनि भनिन्छ।

गिदेप्रेस आएको केही समयमा नेपालमा अर्को छापाखाना पनि अयो जुन थियो मनोरञ्जन छापाखाना । यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा पत्रकारिता भित्र्याउने र सुरु गर्ने प्रथम व्यक्ति थिए मोतिराम भट्ट। यसअघि पनि भट्टले १९४२ मा गोर्खा भारत जीवन नामको पत्रिका बनारसबाट प्रकाशन गरेको ऐतिहासिक दस्तावेजहरुमा भेटिएको छ । यस लगत्तै नेपाली पत्रकारिताको सुरुवात र विकासक्रम भएको देखिन्छ ।

साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टको १९५२ मा निधन भएपनि पण्डित नरराजहरुले १९५५ मा सुधासागर प्रकाशित गरेको विकपिडिया उल्लेख छ । सुधा सागर नेपालबाट प्रकाशित पहिलो पत्रिका हो भने ‘गोर्खा भारत जीवन’लाई नेपाली भाषाको पहिलो पत्रिका मानिन्छ ।

नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाइन्छ । ‘सुधासागर’पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोर्खा पत्र’ हो । गोर्खा पत्रको सन् १९०१ मा प्रकाशन प्रारम्भ भएको थियो । छापाखाना विकास नै ढिलो गरी भएको हाम्रो देशमा पत्रकारिताको लागि सहज वातावरण नरहेको इतिहासबाट प्रष्ट हुन्छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००७ साल फागुन ८ गते स्व सिद्धिचरण श्रेष्ठको सम्पादनमा ‘आवाज दैनिक’ पत्रिका प्रकाशन भएको पाइन्छ । सो कालखण्डमा जागरण साप्ताहिक र २०१० सालमा अंग्रेजी दैनिक समाज दि कमरन प्रकाशन भएको पाइने नेपाल पत्रकार महासंघका पुर्व महासचिव पोषण केसी बताउँछन ।

पत्रकारिता सँगै २००७ सालमा रेडियोले समेत सूचना प्रवाह सञ्चार क्षेत्रमा योगदान पुर्र्याएको देखिएको पत्रकार नमराव लम्साल बताउँछन । रेडियोले छापा माध्यम भन्दा प्रभावकारी रुपमा आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको छ । २००७ मा नारदमुनी थुलुङको नेतृत्त्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रशारण भएको थियो । पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालनमा आएको थियो ।

तारिणीप्रसाद कोइरालाले नेतृत्त्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रुपमा प्रचार गरेको विकपिडियामा भेट्न सकिने लम्साल बताउँछन । प्रजातन्त्रको स्थापना पश्चात २००७ चैत्रमा त्यही उपकरण ल्याएर काठमाडौंबाट नेपाल रेडियोको स्थापना गरिएको थियो । जुन अहिले सरकारी सञ्चार माध्यम रेडियो नेपालको रुपमा सञ्चालित छ ।

परापूर्वकालमा राजाको उर्दी सुनाउने, झ्याली पिट्ने, तोप पड्काउने, शंख फुक्ने, बिगुल फुक्ने, सवाई गाउने विभिन्न प्रकारका चिठीपत्र आदानप्रदानका लागि सन्देशवाहक प्रयोग गरिन्थ्यो । १९३८ सालमा हुलाक सेवा सुरु भएपछि हुलाकमार्फत चिठीपत्रको ओसारपासार हुन थाल्यो । त्यसपछिको सञ्चारमाध्यम २०२४ सालमा टेलिफोन सेवाको सुरुवात भएको पाइन्छ । पछिल्लो सञ्चारको विकासका आधार स्रोत तिनै लाई भन्न सकिने नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका सुर्खेतका पुराना पत्रकार चिरन्जीवी अर्याल बताउँछन । ।

विश्वको सन्दर्भ हेर्ने हो भने प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु धेरै अगाडि नै अनलाइन संस्करणमा गएको पाइन्छ । नेपाल पनि अनलाइन पत्रकारितामा त्यति पछि परेको देखिंदैन । नेपालमा पनि सन् १९९५ मा साउथ–एशिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लिकेशन हाउसको अंग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाई आफ्नो साइटमा राखेपछि अनलाइन पत्रकारीताको प्रारम्भ भएको थियो ।

नेपालमा अनलाइन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रुपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता भएको छ । उसले सन् १९९५ मा नेपालमा ब्लग साइटहरुमा समाचारको निकै बाहुल्यता देखाएको भेटिएको पत्रकार किशोर श्रेष्ठ बताउँछन । उनकाअनुसार कतिपय ब्लग साइटहरु त समाचार साइटले जस्तै समाचार मात्र पस्किन्छन् । त्यसैले ब्लगहरु पनि नेपालमा समाचारका माध्यम बनेका छन् ।

वर्तमान समयमा अनलाइन पत्रकारिता सञ्चारको दह्रो र लोकप्रिय माध्यम बन्दै गएको प्रेस युनियनका उपमहासचिव प्रेम केसी बताउँछन । पाठकहरुमा अनलाइनमा समाचार पढ्ने बानी बढिरहेको छ उनले भने ‘ पाठक सँगै अनलाइन पत्रिकाको पनि वृद्धि भैरहेको छ । ब्लगबाट पनि समाचारहरु प्रकाशन गर्ने प्रचलन बढेको छ ।’

नेपालमा पछिल्लो समयमा विकसित सामाजिक सञ्जाल र अनलाइन मिडियाले सञ्चारक्षेत्रलाई धेरै माथि पुर्याएको छ । यसलाई न्यू मिडियाका रुपमा मान्यता पनि दिइँदैछ । इतिहास देखि वर्तमान सम्मको पत्रकारिता नियाल्ने हो भने सञ्चारमाथि अंकुश र पत्रकारमाथि आक्रमण र हत्यासम्मका घटना भएको हामीले देखि रहेको अवस्था हो ।

२००७ साल पश्चात राजाको शासन काल, २०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रको ‘कु’ पछि देशमा रहेको संकटकाल, माओवादी जनयुद्धकालमा सञ्चारक्षेत्र कुण्ठित र सेल्फसेन्सरसीपको अवस्थामा रहेको थियो । यसैले अझै पनि स्वतन्त्र पत्रकारिताको सुनिश्चितता उपयोग गर्न पाइरहेको अवस्था नभएको पत्रकार झलक गैरे बताउँछन । नेपालमा लोकतन्त्र प्राप्ति पछि सञ्चार क्षेत्र फष्टाएको उनको बुझाई छ ।

लोकतन्त्रसँगै प्राप्त विचार र अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन, प्रसारण र छापाखना र सूचनाको हकको उल्लेख गरियो र श्रमजीवि पत्रकारको हक र हित र अधिकार संरक्षण गर्ने उद्देश्यले श्रमजीवी पत्रकार ऐन २०६४ जारी गरिएको छ । देशमा लोकतन्त्र आएपछि एफएम रेडियो, निजी र सामुदायिक र टेलिभिजन खोल्ने क्रमले तीव्रता पाएको पत्रकार डिल्ली विसीको भनाई छ ।

इन्टरनेट र मोबाइलको पहुँच विस्तारसँगै विश्वभर पत्रिकाका पाठक, टेलिभिजनका दर्शक र रेडियोका श्रोता घटेका छन्। सामाजिक सञ्जाल र अनलाइनमा पाठक, श्रोता र दर्शक झुम्मिएका छन्। पत्रिका, टेलिभिजन र रेडियोका विज्ञापन अनलाइन र सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन्। इन्टरनेट र प्रविधिको पहुँचले सबै लोकल मिडियालाई ग्लोबल र ग्लोबललाई लोकल बनाइदिएको छ। विगतमा जस्तो मिडियालाई स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय भनेर वर्गीकरण गर्न सक्ने अवस्था छैन। आजको युगमा सबै मिडिया लोकल हुन्, सबै मिडिया ग्लोबल हुन्।

स्थानीय, क्षेत्रीय वा राष्ट्रिय भनिएका मिडिया सञ्चालक र मिडियामा काम गर्नेहरूका लागि ग्लोबल स्तरको सूचना सामग्री पस्किनुपर्ने चुनौती थपिएको छ। एकातिर मिडियामा आम्दानी घट्दै जाने र अर्कातिर गुणस्तरीय र ग्लोबलस्तरीय सूचना सामग्री पस्कनुपर्ने चुनौतीका बीच मिडिया टिकिरहेका छन्। मिडियाका पाठकभन्दा दर्शक र श्रोता बढी हुन थालेका छन्। युवा पुस्ता मोबाइलभन्दा बाहिर जान चाहिरहेको छैन भने पाका पुस्ताले रुचाएर मात्रै पत्रिका, रेडियो र टेलिभिजन टिक्न मुस्किल हुन्छ।

सजिलो, छिटो, पहुँचमा रहने भएकाले पनि मल्टिमिडियाप्रति पाठक, श्रोता र दर्शकको रुचि बढेको छ। युवा पुस्ता मोबाइलमा झुम्मिन्छ भने पत्रकारहरूले मोबाइललाई प्रयोग गरेर आफ्नो पत्रकारिता पेसालाई आधुनिक र प्रविधिमैत्री किन नबनाउने ? जब पाठक, श्रोता र दर्शक मोबाइलमा छन् भने त्यही मोबाइललाई मिडियाले प्रयोग किन नगर्ने रु यद्यपि मोबाइलबाटै पत्रकारिता गर्ने पत्रकारहरूको संख्या नेपालमा निकै कम छ। अब यो संख्या बढ्दै जानेछ।

यतिबेला बाँकेसहित देशभरमा पत्रकारिताको स्थिती हेर्दा समाचार सम्प्रेषण,राजनैतिक घटनाक्रमको व्याख्या र तिनिहरुको विश्लेषण मात्र प्रमुख रहेको पाईएको छ । यसले समाजमा एक किसिमको निराशा पैदा गरेको छ । राजनैतिक अभिष्ट प्राप्तीका लागी पत्रकारिताका मूल्यमान्यताहरु दिनानुदिन निचोरिदै गएको छ।

स्वतन्त्र पत्रकारिताको अभाव महसुस भएको छ। तर, अहिले पत्रकारिता बिषयलाई नेपालको शैक्षिक संकायमा पनि समावेश गरिएकोले पत्रकारिताका मुल्यमान्यता र सोध र अबको दक्ष पत्रकारिता गुणस्तरीय हुनेमा विश्वास गर्न सकिने देखिएको छ ।


सम्बन्धित समाचार