Loading... आजः ८ आश्विन २०७८, शुक्रबार ।। Friday 24th September 2021

बाबु छैनन, आमा अपाङ्ग : ‘पढ्ने रहर छ, कसले पढाउँछ’

दैलेख : ठाटीकाँध गाउँपालिका –५ टमटाटोलका ११ बर्षीय प्रेम विक बाबुको मृत्यु हँदा ५ बर्षका थिए भने उनका भाई १ बर्षका थिए । प्रेमबहादुरले बाबुको अनुहारको केही सम्झना भए पनि पैल विक बाबुबारे बेखवर छन् । उनले बाबुको माया अपांग आमाले दिने गरेकी छन् । अपांग पत्नीलाई छोडेर रोजी रोटीको लागि भारत छिरेका रुपाका पतिको भारतमै मृत्यु भयो ।

बाबुको मृत्यु र आमा अपांग भएपछि भाई पैलको र आमालाई हेरचाहको जिम्मा प्रेमबहादुर विकको काँधमा थपिएको छ । प्रेमको दिनचार्य बिहान उठ्ने बित्तिकै खाना पकाउने, आमालाई खुवाउने, भाईलाई स्कुल पठाउने गर्छन् । कलिलै काँधमा घरको जिम्मेवारी थपिएपछि उनको पढाईतिर उत्तिकै लगाव छ ।

‘फुर्सदको समयमा पढी हाल्छु । भाईलाई पनि सिकाउँछु । आमालाई पनि सहयोग गर्छु । पढने त रहर छ । हामीलाई कसले पढाई देला । आमा अपांग छिन् बाबुको मृत्यु भइसक्यो । पढने रहर भएर के गर्ने ?’ पढेर जागिर खाने पैसा कमाउने उनको सपना छ । सानै उमेरमा आमा घाइते भएपछि पैसा अभावले उपचार गर्न नपाएको प्रेमले दुखेसो पोखे । ‘पैसा भइदिएको भए आमाको उपचार हुन्थ्यो । पैसा भएन । गाउँका साहु महाजनले पत्याएनन । हामी गरिब पैसा अभावले जीवनभरि अपांग भएर बाच्नुपर्ने बाध्यता आयो’, उनले भने ।

बाबु फर्किएनन् । भारतमै बिरामी परेर उनको मृत्यु भयो । के कारणले मृत्यु भयो त्यसबारे अझै पनि रुपा बेखवर छिन् । ‘काम गर्न भारतमा सँगै गएका आफन्तले बिरामी परेर सुनिए भने, आफुले देखेन, जान पनि सकिएन, पत्याउनु प¥यो’, मृतककी पत्नी रुपाले गहँभरि आँशु निकाल्दै भनिन् ।

छरछिमेकी आफन्तको सहायताले रुपाले दुई छोरा पाल्दै आएकी छन् । ‘म आफु केही पनि गर्न सक्दिनँ । जेठाजुले सबै काम गरिदिन्छन् । म त अरुको सहायताले दिशापिसाब गर्न जानुपर्छ’, रुपाले पिडा सुनाईन । ७ बर्ष अघि नजिकैको जंगलको उकाली मोडमा घाँस काट्न जाँदा भिरबाट चिप्लिएर घाइते भएकी थिइन् ।

सुर्खेत, नेपालगञ्ज गएर औषधी उपचार गर्ने पैसा नहुँदा उनको नजिकैको स्थानीय मेडिकलमा उपचार गरियो । तर सञ्चो भएन । ‘जीवनभर अपांग भएर बाँच्नु पर्ने रहेछ’, रुपाले दुखेसो पोखिन् ।

उनको जग्गा जमिन केही पनि छैन । सानो घर छ । गएको बुधबार दिउँसो रुपामा आंगनमा घाम तापिरहेको बेला घर आफैं भत्कियो । ‘धन्न घरभित्र भइएन र बाँचियो । घरमा भएको भए च्यापिएर मर्ने थिएँ । छोरा टुहुरा हुने थिए’, उनले भनिन् । घर भत्किएको दिन रुपा खुल्ला आकाश मुनि दुई छोरासँग आगो तापेर बिताएको पिडा सुनाए ।

‘ठाटीकाँध गाउँपालिकाकाले अपांग भनेर चौमासिक १२ हजार सामाजिक सुरक्षा भत्ता दिन्छ । त्यही पैसाले खाना खर्च चलाउँछु । छोरा साना छन् । पढ्ने रहर गरेका छन् । कापी, झोला र डट्पेन किन्ने पैसा छैन । हामी गरिबको त भगवान पनि हुँदो रहेनछ’, उनले दुखेसो पोखिन् । रुपाका दुईवटै छोरा ठिमुरे प्रावि आग्रा कक्षा ३ र कक्षा १ मा अध्ययनरत छन् ।

 तस्वीर :  (दैलेखबाट भक्तबहादुर शाहीको सहयोगमा)